Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


‘७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलाई भेट्नेगरी मौद्रिक नीति आउनुपर्छ’


0
Shares

काठमाडाैं । सांसदहरूले आगामी मौद्रिक नीति सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलाई सहयोग पुग्नेगरी आउनुपर्नेमा जोड दिएका छन् । 

आइतवार सिंहदरबारमा कसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । बैंकिङ प्रणालीमा थुप्रिएको तरलता परिचालन, निजी क्षेत्रको मनोबल उकास्ने र परियोजनामुखी कर्जा विस्तार गर्नेगरी अगामी मौद्रिक नीति आउनुपर्नेमा उनीहरुको जोड छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनको लागि मौद्रिक नीतिले सहयोगी भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले स्थिर सरकार गठन भइसकेको अवस्थामा निजी क्षेत्रले उठाउँदै आएको लगानीमैत्री वातावरणको माग सम्बोधन गर्ने जिम्मेवारी अब मौद्रिक नीतिमा भर पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले जुन हिसावले बजेट र अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । सरकारको यो फिस्कल पोलिसीलाई सहयोग गर्ने किसिमको मौद्रित नीति चाँही आउनैपर्छ भन्ने मेरो स्पष्ट माग रहेको छ । ठुलो परिवर्तन र ठुलो जनअपेक्षासहित जनताबाट पाँच वर्षको लागि म्याण्डेट लिएर बनेको स्थीर सरकार गठन भएको छ । लामो समयदेखि नीजि क्षेत्रले समेत स्थिर सरकार भएन, लगानीमैत्री वातावरण भएन भनेर गर्ने गरेको गुनासो समेत सम्बोधन भइसकेको अवस्था छ । मौद्रिक नीतिले सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिदरलाई कम्प्लिमेन्ट गर्ने हिसाबले आउनुपर्छ । अहिले नेपालको समस्या भनेको सप्लाईको समस्या होइन डिमाण्डकै समस्या हो । डिमाण्ड नै बढ्न सकिरहेको छैन । त्यसकारण निजी क्षेत्रको मनोबल उकास्नको लागि पनि मौद्रिक नीतिले ठोस कदम चाल्नैपर्छ ।’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा))का सांसद परशुराम तामाङले बैंकिङ प्रणालीमा बढ्दो तरलताले मुलुकलाई ‘लिक्विडिटी ट्र्याप’मा पार्नसक्ने चेतावनी दिनुभयो । उहाँले कृषि र औद्योगिक क्षेत्रको कुल गार्हस्थ उत्पादनमा योगदान सन्तोषजनक नरहेको भन्दै त्यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बैंकहरुमा लिक्विटी थुप्रिएको छ । मैले त यसलाई लिक्विटी ट्र्याप पनि भन्ने गरेको छु । यो अझै बढ्दै गयो र कृषि र औउद्यागिक क्षेत्रबाट उत्पादन नहुने हो भने अथवा यो क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान विगत एक दशको सन्तोषजनक छैन । बरु योगदान घटिरहेको अवस्था छ । त्यसो हो भने त हामी देशभित्रबाट पब्लिक र बैँकसँग भएको ओभरड्राफ्ट मार्फत सरकारमा जाने हो भने पब्लिकको लागि ऋण त निश्चय पनि कम हुन्छ । यदि यस्तो अवस्था आयो भने हामी डेफ्थ ट्र्यापमा जाँदैनौँ भन्ने के ग्यारेन्टी हुन्छ ?’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद भरत गिरीले बजारमा पैसा अभाव हुँदा बैंकहरूमा तरलता थुप्रिने अवस्थालाई अन्त्य गर्न राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन तथा धितोमुखी बैंकिङ प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले धितोमा आधारित कर्जा प्रणालीबाट परियोजनामुखी कर्जा प्रवाहको व्यवस्था नगरेसम्म अर्थतन्त्रमा अपेक्षित लगानी विस्तार हुन नसक्ने भन्दै आगामी मौद्रिक नीतिमा परियोजनालाई आधार मानेर ऋण प्रदान गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बजारमा पैसा नभएर बैंकमै थुप्रिने यो तरलताको चक्रव्युह तोड्न राष्ट्र बैंकले चालु पूँजी कर्जा, मार्गदर्शन र धितोमुखी बैंकिङ प्रणालीलाई परियोजनामा आधारित बनाउन किन ढिलाई गरेको छ । खाली धितोमा आधारित बन्ने तर परियोजनामुखी सरकारले नीति कार्यक्रम बनाउँदा चाँही तर राष्ट्र बैंक त्यसमा स्पष्ट नहुने ? अस्ति हामीले छलफल गर्दा समेत त्यो कुरा स्पष्ट आएको छैन । त्यसो भएको हुनाले परियोजनालाई समेत आधारमा नीति बनाउने हो भने मात्रै कर्जा प्रवाह बढाउन सकिन्छ भन्ने लाग्छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले आगामी मौद्रिक नीति विस्तारमुखी, लगानी प्रोत्साहन गर्ने र आर्थिक गतिविधि चलायमान बनाउने खालको हुनुपर्नेमा जोड दिए ।