काठमाडाैं । नेपालका लागि चीनका राजदुत झ्याङ माओमिङले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चार बुँदे प्रस्ताव अघि सार्नुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १०५ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित एक विशेष विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले चार वटा प्रश्ताव अघि सार्नुभएको हो । राजदुत माओमिङले नेपाल–चीन सम्बन्धको भविष्यका सन्दर्भमा बोल्दै दुई देशका राजनीतिक दलहरूबीच गरिबी निवारण, आर्थिक विकास र पार्टी निर्माणका असल अभ्यासहरू साटासाट गर्नुपर्ने बताउनुभयो ।
नेपालको विकास रणनीतिसँग बीआरआईलाई जोड्दै ‘ट्रान्स–हिमालयन मल्टि–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ को निर्माणलाई तिब्रता दिने बताउनु भयो । संयुक्त राष्ट्र संघ र साङ्घाई सहयोग संगठन जस्ता मञ्चहरूमा समन्वय गर्दै राष्ट्रपति सी जिनपिङद्वारा प्रश्तावित ग्लोवल डेभलपमेन्ट, ग्लोवल सेक्युरिटी, ग्लोवल सिभिलाइजेसन र ग्लोवल गभर्नेन्स इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले युवा पुस्ताबीच भ्रमण र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरी नेपाल–चीन मैत्री सम्बन्धलाई पुस्तान्तरण गर्नुपर्ने पनि बताउनु भयो ।
पार्टीको सफलता र विशेषताबारे चर्चा गर्दै राजदुतले सीपीसी विश्वकै ठूलो सत्तारुढ दल भएको र यसमा १० करोड १२ लाखभन्दा बढी सदस्य र ५४ लाखभन्दा बढी पार्टी संगठनहरू रहेको जानकारी दिनुभयो । उहाँकाअनुसार सीपीसीका ६ वटा विशिष्ट गुणहरूमा सत्यको खोजी, जनतासँगको गहिरो सम्बन्ध, ऐतिहासिक जिम्मेवारी वोध, विकासको प्रवृत्ति पछ्याउने क्षमता, सङ्घर्ष गर्ने शाहस र आत्म–सुदृढीकरणको प्रतिवद्धता रहेको बताउनु भयो ।
पार्टी निर्माण र सुशासनका सम्बन्धमा नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद सम्बन्धी सी चिनफिङ विचारधारा’ को व्याख्या गर्दै राजदुतले १४ वटा मुख्य सिद्धान्तमध्ये पाँच बुँदामा विशेष जोड दिनुभयो । जसमा पार्टीको केन्द्रीकृत नेतृत्व, जनमुखी अवधारणा, सैद्धान्तिक नवीनता, संगठनात्मक सुदृढीकरण र आत्म–सुधार (भ्रष्टाचार नियन्त्रण) रहेका छन् । सन् २०२२ मा मात्रै भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत १० लाखभन्दा बढी मुद्दा दर्ता गरी करिव ९ लाख ८३ हजार व्यक्तिलाई अनुशासनको कारबाही गरिएको उहाँले बताउनु भयो ।
विश्वमा देखा परेका विभिन्न सुरक्षा चुनौतीहरूका बीच चीनले नेपालका सबै राजनीतिक दलहरूसँग मिलेर साझा भविष्य निर्माण गर्न, विश्व शान्ति प्रवद्र्धन गर्न र मानव प्रगतिको यात्रामा योगदान पु¥याउन तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्