Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


कालो सिसा हटाउन सातै प्रदेशमा प्रहरी प्रधान कार्यालयको सर्कुलर


949
Shares

काठमाडाैं । प्रहरी प्रधान कार्यालयले सार्वजनिक तथा निजी सवारी साधनमा जडान गरिएका कालो सिसा (टिन्टेड ग्लास) हटाउने अभियानलाई देशभर विस्तार गर्दै सातवटै प्रदेशमा सर्कुलर जारी गरेकाे छ ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य विभागको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले मंगलबार प्रदेशस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूलाई कालो सिसा हटाउने अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पनि सोहीअनुसार सर्कुलर पठाइएको प्रहरीले जनाएको छ।

यसअघि असार १५ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले प्रयोग गर्ने सरकारी सवारीबाट कालो सिसाको स्टिकर हटाएको थियो। त्यसलगत्तै मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रयोग गर्ने सरकारी गाडीबाट पनि कालो सिसा हटाइएको छ। मन्त्रालयका कर्मचारीहरूले नै उक्त स्टिकर निकालेका हुन्।

ट्राफिक प्रहरीले असार १४ गतेदेखि काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा जडान गरिएका कालो सिसाका स्टिकर हटाउने अभियान सुरु गरेको थियो। पहिलो चरणमा स्टिकर हटाउने कार्य भइरहेको छ भने कम्पनीबाटै कालो सिसा जडान भएका सवारीको सिसा परिवर्तन गर्ने विषयमा गाडी बिक्रेता कम्पनीहरूसँग पनि छलफल भइरहेको प्रहरीले जनाएको छ।