Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


रास्वपाकाे प्रथम महाधिवेशन: आज ९९ केन्द्रीय सदस्य चयनका लागि मतदान जारी


26
Shares

काठमाडाैं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत बुधबार मध्यरातदेखि मतदान जारी रहेकाे छ।

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि शुरु भएको मतदान जारी रहेकाे हाे । मतदानको समय बिहीबार मध्याह्न १२ बजेसम्मका लागि तोकिएको हाे । मतदान उद्योग संघको हलमा जारी रहेकाे छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले बिहीबार बिहान ८ बजेसम्म २ हजार १ सय महाधिवेशन प्रतिनिधिले मतदान गरेकाे बताउनुभयाे । ‘३८ सयदेखि ३९ सयसम्म महाधिवेशन प्रतिनिधिले मतदान गर्ने अनुमान उहाँकाे भनाइ छ ।

रास्वपाका विदेशमा रहेका प्रतिनिधिहरुलाई भने उतैबाट मोबाइल एपबाट मतदान गर्ने व्यवस्था गरिएको रास्वपाले जनाएको हाे। रास्वपाको सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएकाे छ। केन्द्रीय सदस्यहरु चयन भइसकेपछि पदाधिकारीको निर्वाचन गराउने तयारी रहेकाे आयाेगले जनाएकाे हाे । रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरु टुंगो लागिसकेपछि बल्ल महाधिवेशन प्रतिनिधिहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

रास्वपा विधानमा १९ पदाधिकारी र १ सय ५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुने भएका हुन् । ५१ जना केन्द्रीय सदस्यलाई सभापतिले मनोनित गर्ने व्यवस्था रहेकाे छ । रास्वपाको पहिलो महाधिवेशन असार ७ गते आइतबार भरतपुरमा उल्लासपूर्ण वातावरणमा उद्घाटन भएको थियो ।

तर महाधिवेशन प्रतिनिधि टुंगो लगाउन नसक्दा बन्दसत्र भद्रगोल बनेको थियो । जसका कारण ९ गते सक्ने भनिएको महाधिवेशन लम्बिएको आयाेगले जनाएकाे छ।