काठमाडाैं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नामावली त्रुटी सच्याउने क्रम नसकिँदा बन्दसत्र शुरू हुन नसकेको जनाइएकाे छ।
साेमबार बिहान साढे ८ बजेबाट बन्दशत्र शुरू गर्ने कार्यतालिका रहेपनि प्रतिनिधिहरूको नामावलीहरू नै टुंगो नलाग्दा बन्दशत्र ढिलो भएको हो । रास्वपा निर्वाचन आयोगका अनुसार प्रतिनिधिहरूको टुंगो लगाउने क्रम सकिएपछि मात्रै बन्दसत्र शुरू हुने भएकाे छ । अहिले बन्दशत्रस्थल वरपर प्रतिनिधिहरुको उल्लेख्य भीड लागेको छ ।
केन्द्रीय सदस्यका आकांक्षीहरुले प्रतिनिधिसँग मत माग्न सुरु समेत गरिसकेका छन् । बन्दशत्रमा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीको सांगठनिक, कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन पेश हुने तथा छलफल गर्ने कार्यसूची तय गरिएको हाे । केन्द्रीय निर्वाचन आयोगले नयाँ नेतृत्वका लागि निर्वाचन कार्य तालिका पनि साेमबारदेखि शुरु हुने भएकाे छ ।
आयोगले सार्वजनिक गरेको तालिका अनुसार साेमबार दिउँसो १ बजेदेखि उम्मेदवारको मनोनयनपत्र वितरण, दिउँसो २ बजेदेखि ४ बजेसम्म दर्ता र उम्मेदवारहरूको प्रारम्भिक नामावली बेलुका ६ बजे सार्वजनिक हुने जनाएकाे हाे । उम्मेदवारविरुद्ध दाबी तथा विरोध दर्ताका लागि साेमबार साँझ ६ बजेदेखि ७ बजेसम्म तोकिएकोमा त्यस्ता उम्मेदवारबारे रमति ९ बजेसम्म जाँचगरी उम्मेदवारी फिर्ता लिनका लागि राति सवा ९ बजेसम्मको समय निर्धारण गरिएको छ ।
कार्य तालिका अनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनका लागि पहिलो चरणको मतदान मंगलबार बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएकाे हाे । सभापतिका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक रहनुपर्ने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, पदाधिकारीका लागि १ जना प्रस्तावक र २१ जना समर्थक चाहिनेछ । केन्द्रीय सदस्यका लागि १ जना प्रस्तावक र २१ जना समर्थक रहनुपर्ने रास्वपाले जनाएको हाे ।
मतगणना तथा मत परिणामको घोषणा मतदान सम्पन्न भएको दुई घण्टापछि गरिने तालिकामा उल्लेख गरिएकाे छ । आयोगले निर्वाचन विद्युतीय मतदान प्रणालीबाट गर्ने तयारी गरेकाे जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्