काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली काँग्रेसको प्रतिष्पर्धी पार्टी रहेकाे तर दुश्मन नभएकाे स्पष्ट पार्नुभएकाे छ ।
चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनका अवसरमा आफ्नो धारणा राख्दै उहाँले पार्टी स्थापनाको चार वर्षभित्रै रास्वपाले हासिल गरेको जनसमर्थन निकै उल्लेखनीय रहेको बताउनुभयो।
सभापति थापाले सम्बोधनका क्रममा नेपालको राजनीतिक इतिहास र विगतका अनुभवलाई स्मरण गर्दै नयाँ राजनीतिक शक्तिहरूलाई सत्ता र शक्तिको उन्मादबाट जोगिन विशेष रूपमा आग्रह गर्नुभयो।
उहाँले विगतमा पनि विभिन्न दलहरूले उत्साहजनक जनमत प्राप्त गरे पनि आन्तरिक अहंकार, नेतृत्वबीचको टकराव तथा सत्ताको दुरुपयोगका कारण ती अवसरहरू टिक्न नसकेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार शक्ति प्राप्त गरेपछि त्यसलाई सन्तुलित रूपमा प्रयोग गर्न नसक्दा लोकतान्त्रिक अभ्यास कमजोर हुने र जनताले दिएको विश्वास पनि संकटमा पर्ने गरेको छ।
उहाँले भन्नुभयो, “विगतमा जुन-जुन दलले बलियो जनमत पाए, त्यहाँ नेताहरूबीच आपसी अहंकारको टकराव भयो। जनमत पाएपछि शक्तिको पनि सीमा हुन्छ भन्ने कुरा बिर्सिँदा सत्ताको उन्माद बढ्यो र ती अवसरहरू दुर्घटनामा परे।”
थापाले राजनीतिक दलहरूमा सत्ता र शक्तिको घमण्ड बढ्दै जाँदा अलोकतान्त्रिक प्रवृत्ति विकास हुने र अन्ततः जनताको भरोसा गुम्ने खतरा रहने उल्लेख गर्नुभयो।
उहाँले रास्वपालाई विगतका राजनीतिक दलहरूको अनुभवबाट शिक्षा लिन सुझाव दिँदै भविष्यमा नेतृत्वबीचको टकराव र सत्ताको उन्माद दुवैबाट जोगिनुपर्नेमा जोड दिनुभयो।
थापाले नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको दुश्मन नभई प्रमुख प्रतिष्पर्धी दल भएको बताउनु भयो । सभापति थापाले काँग्रेस र रास्वपाबीच प्रतिष्पर्धा भएपनि शत्रुताको सम्बन्ध नरहेको बताउनु भयो । उहाँले आफूलाई रास्वपाको जनमत देखेर लोभ लागेको भन्दै काँग्रेसलाई रास्वपाबाट अग्लो बनाउने दाबी पनि गर्नुभयो । उहाँले आफूहरूले अरूलाई कमजोर बनाएर नभई इमानदार काम गरेर राजनीतिक रूपमा उचाई हासिल गर्न चाहेको दाबी गर्नुभयो । थापाले संसदमा प्रतिष्पर्धी भएको नाताले सरकारसँग आवश्यकताअनुसार सहकार्य र आलोचना दुवै गर्ने बताउनु भयो ।
अन्त्यमा उहाँले रास्वपाको प्रथम महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो।









प्रतिक्रिया दिनुहोस्