काठमाडाैं । राष्ट्रियसभाकी सांसद मदनकुमारी साहले वर्तमान सरकारले संघीयताको भावना र मर्मविपरित कार्य गरिरहेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद साहले यस्ताे आराेप लगाउनुभएकाे हाे । सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने प्रशासनिक, वित्तीय र कानूनी आधारहरू तयार गर्न सरकार चुकेको बताउनुभयो । सांसद शाहले सङ्घीयतालाई विविधतामा एकता कायम गर्ने र शक्ति विकेन्द्रिकरण गर्ने माध्यमका रूपमा व्याख्या गर्नुभएकाे छ ।
नेपालमा यसको उचित संरक्षण नभएको उल्लेख गर्नुभयो । वित्तीय हस्तान्तरणमा गरिएको कटौती र सङ्घीय कानुनको अभावका कारण प्रदेश सरकारहरूले अपेक्षित कार्य गर्न नसकेको उहाँको तर्क छ । १० वर्षको नाबालक गणतन्त्र र सङ्घीयतालाई असफल बनाउन शक्तिको केन्द्रीकरण गर्ने खेल भइरहेको भन्दै उहाँले यस्तो कार्य स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
बैठकमा सांसद साहले काठमाडौंमा सञ्चालित डोजर अभियानप्रति लक्षित गर्दै सरकारलाई गरिबमाराको संज्ञा दिनुभएकाे छ । सुकुम्बासी र गरिब जनताको विकल्पबिना नै घरबार विहीन बनाइएको भन्दै उहाँले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाउनुभयो ।
विदेशिएका युवा फर्काउने आश्वासन दिए पनि अहिले घरघरमै राहदानी पठाएर युवा पलायनलाई प्रश्रय दिएको र राष्ट्रवादी नक्शाको मुद्दामा सरकार मौन बसेको उहाँले आरोप लगाउनुभएकाे छ ।









प्रतिक्रिया दिनुहोस्