Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


पाथीभरा मन्दिरमा गत जेठमा साढे ४६ लाख रूपैयाँ बढी भेटी रकम संकलन


26
Shares

काठमाडाैं । ताप्लेजुङमा रहेकाे प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा गत जेठ महिनामा साढे ४६ लाख रुपैयाँ भन्दा बढी भेटी रकम सङ्कलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले जेठ महिनामा साेही भेटी रकम सङ्कलन भएको जनाएकाे हाे । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले सार्वजनिक गर्नुभएको विवरण अनुसार जेठमा कूल ४६ लाख ६० हजार ६ सय रुपैयाँ भेटी रकम सङ्कलन भएको छ। पाथीभरा दर्शनमा आउने भक्तजनले दान गरेका र भेटी बापत चढाएको रकम समितिले सङ्कलन गर्ने गरेको छ । जेठ महिनामा सङ्कलन भएको भेटी रकम मंगलबार साँझ सार्वजनिक गरेको हो ।

भेटीबापत सङ्कलित उक्त रकम नेपाल बैंकमा रहेको समितिको खातामा जम्मा गरिएको समितिले जनाएको छ । समितिले पाथीभरामा सङ्कलन हुने भेटी रकम प्रत्येक महिना सार्वजनिक गर्ने गरेको छ । यसअघि वैशाख महिनामा एक करोड ६ लाख २८ हजार रुपैयाँ सङ्कलन भएको थियो ।

त्यस्तै , जेठ महिनामा ८ हजार ३ सय ८७ जना भक्तजनले पाथीभराको दर्शन गरेका समितिले जनाएको छ । पाथीभरा दर्शन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ र पश्चिम बङ्गालसहितका ठाउँबाट भक्तजन आउने गरेको पनि समितिले जानकारी गराएकाे हाे ।