Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच द्विपक्षीय भेटवार्ता

सुशासन तथा आर्थिक वृद्धिका क्षेत्रमा नेपालका प्राथमिकतालाई पूर्ण समर्थन रहने चीनको आश्वासन

39
Shares

काठमाडाैं । चीनको चार दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।

बेइजिङमा साेमबार राति भएको भेटवार्तामा क्रममा द्विपक्षीय सम्बन्धका आयामकाे बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको हाे । साेही अवसरमा दुई पक्षबीच सम्पर्क सञ्जाल ‘कनेक्टिभिटी’सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्रलगायत विषयमा छलफल भएको थियो । नेपाल र चीनबीच पारस्परिक सम्मान तथा एक-अर्काका प्राथमिकता तथा संवेदनशीलताप्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

पूर्वाधार, सम्पर्क सञ्जाल , सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन लगायतका विषयमा सहकार्य गर्ने गरि छलफल भएको हो । द्विपक्षीय भेटवार्ताका क्रममा रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण, तथा जनस्तरका सम्बन्ध विस्तारमा सहकार्य गर्ने छलफल भएको हो ।

भेटका क्रममा दुई देशका प्रतिनिधिमण्डलबीच मित्रता, सद्भावना र सहकार्यले परिभाषित नेपाल–चीन सम्बन्धका समग्र आयामकाे बारेमा सारगर्भित छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता पुनः व्यक्त गर्दै नेपालको भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने स्पष्ट पारेको हाे ।

त्यस्तै, चिनियाँ पक्षले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍याउँदै सुशासन तथा आर्थिक वृद्धिका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतालाई पूर्ण समर्थन रहने आश्वासन दिएको छ । मन्त्रालयले दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम तथा परियोजनाको शीघ्र कार्यान्वयनप्रति बलियो प्रतिबद्धता व्यक्त गरेकाे जनाएकाे हाे ।

साथै दुवै पक्षले बहुपक्षीय तथा क्षेत्रीय मञ्चमा साझा चासोका विषयमा थप सहकार्य अघि बढाउने विषयमा जोड दिएका नेपाली दूतावास, बेइजिङले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ । चीनका विदेश मामिलामन्त्री वाङको निमन्त्रणामा आइतबार बेइजिङ पुग्नुभएका मन्त्री खनाल यहि असार ३ गते बुधबार स्वदेश फर्किने कार्यक्रम रहेकाे मन्त्रालयले जनाएकाे हाे ।