Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


‘बाटुलो जुन’ असोज ३० गते प्रदर्शनमा आउने


390
Shares

पोखरा । नेपाली चलचित्र क्षेत्रमा बहुप्रतीक्षित मानिएको चलचित्र ‘बाटुलो जुन’ मा पोखराका युवा व्यवसायी विवेक थापा निर्माताका रूपमा आबद्ध भएका छन्।

अभिनेता तथा निर्देशक भुवन केसी को निर्देशनमा निर्माण भइरहेको चलचित्रको छायाङ्कन हाल अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।

सनराइज पिक्चर्स को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा भुवन केसी, अनमोल केसी, प्रिन्सी खतिवडा, गरिमा पन्त र नेन्सी खड्का लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। चलचित्रले पारिवारिक कथा, भावना र समकालीन सामाजिक परिवेशलाई समेट्ने अपेक्षा गरिएको छ।

कम उमेरमै नेपाली चलचित्र क्षेत्रमा लगानीकर्ताका रूपमा आफ्नो पहिचान बनाएका विवेक थापाले यसअघि चर्चित चलचित्र जेरी अन टपमा समेत लगानी गरेका थिए। चलचित्र उद्योगप्रति विशेष रुचि राख्ने विवेकले ‘बाटुलो जुन’ नेपाली चलचित्रप्रेमी दर्शकका लागि विशेष बन्ने विश्वास व्यक्त गरेका छन्। उनले चलचित्रको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयले दर्शकको मन जित्ने अपेक्षा रहेको बताए।

विवेकका अनुसार नेपाली चलचित्र क्षेत्रमा नयाँ सोच र ऊर्जा ल्याउन युवा पुस्ताको सहभागिता आवश्यक छ। पछिल्लो समय चलचित्र निर्माण तथा लगानीमा युवाहरूको आकर्षण बढ्दै गइरहेका बेला उनको यो लगानीलाई सकारात्मक रूपमा हेरिएको छ। यसले नेपाली चलचित्र उद्योगमा नयाँ पुस्ताको सक्रियता र विश्वास बढाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

निर्माण टिमका अनुसार चलचित्रको अधिकांश छायाङ्कन कार्य सम्पन्न भइसकेको छ भने पोस्ट–प्रोडक्सनका कामहरू पनि छिट्टै अगाडि बढाइनेछन्। चलचित्रको प्राविधिक पक्षलाई समेत विशेष ध्यान दिइएको निर्माण पक्षको दाबी छ।

दर्शकमाझ लामो समयदेखि प्रतीक्षामा रहेको बाटुलो जुन आगामी असोज ३० गते, अर्थात् दशैंपछिको अवसर पारेर देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ। स्टार कलाकारहरूको उपस्थितिसँगै युवा लगानीकर्ताको सहभागिताले चलचित्रप्रति दर्शक र चलचित्रकर्मीहरूको चासो अझ बढाएको छ । निर्माण टिमले चलचित्रले मनोरञ्जनसँगै भावनात्मक अनुभूति दिलाउने विश्वास व्यक्त गरेको छ।