Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


मनसुन शुरू भएसँगै कुनैपनि समयमा सम्पर्कविच्छेदको खतरामा इलाम

विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएपनि संघीय बजेट विनियोजन नभएकोमा स्थानीयको आक्रोश

13
Shares

काठमाडाैं । यस वर्षको मनसुन शुरु भएसँगै इलाम जिल्ला देशका अन्य भू–भागबाट कुनैपनि समयमा सम्पर्कविच्छेद हुनसक्ने उच्च जोखिममा परेको छ ।

गत वर्षको भारी वर्षाका कारण भत्किएका सडक र पुलहरू बेलैमा मर्मत हुन नसक्दा यस वर्ष इलामको आर्थिक उत्पादन बाहिर पठाउन नसकिने र जिल्ला नै सम्पर्कविहीन हुनसक्ने खतरा बढेको हो । वर्षातको समयमा आउने बाढी र पहिरोका घटनाले इलाम फेरि पनि सडक सञ्जालबाट अलग हुन सक्ने भएकाे छ । इलाम नगरपालिकाका प्रमुख केदार थापाले गत वर्ष असोज १८ र १९ गतेको विनाशकारी वर्षापछिको बाढी र पहिरोबाट नगरपालिकाले ठूलो नोक्शानी व्यहोरेको बताउनुभयाे । २ सय ३१ मिलिलिटरसम्म परेको पानीले कयौँ बाटोघाटा, कल्भर्ट र पुलहरू बगाउँदा मानवीय क्षतिका साथै भौतिक संरचनाहरूमा गम्भीर क्षति पुगेको उहाँकाे भनाइ छ ।…

मेची राजमार्ग अन्तर्गत इलामको माईखोला खण्डमा पर्ने राजदुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सडक पूर्णरूपमा सुचारु गर्न कठिनाइ भइरहेको छ । उक्त खण्डमा पहिरो झरिरहने भएकाले दैनिक रूपमा गाडीहरूको लामो लाइन लाग्ने तथा कतिपय अवस्थामा गाडी सञ्चालन गर्न पनि कठिन हुँदा यात्रुहरुले सास्ती खेप्नुपरेको हाे । वर्षात शुरु भइसकेकाले यो खण्ड अझ बढी संवेदनशील र जोखिमपूर्ण मानिएको छ ।

विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको इलामको भौतिक पूर्वाधार विकास र पुनर्निर्माणका लागि संघीय सरकारले रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले आक्रोश व्यक्त गर्दै आएका हुन् । संघीय सरकारको चालु बजेटमा समेत इलामको कृषि उत्पादन, पूर्वाधार र अन्तरपालिका जोड्ने कृषि सडकहरूको पुनर्निर्माणका लागि बजेट विनियोजन हुन नसकेकोमा उनीहरुको गम्भीर गुनासो छ ।