Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


मुग्लिन-मलेखु सडक खण्डका ४ वटा पुल सञ्चालनमा ल्याउने तयारी

पुलको प्लास्टर, रङ रोगन र ट्राफिक सुरक्षा लगायतका सामान्य काम गर्न बाँकी

0
Shares

काठमाडाैं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिङ-मलेखु सडक खण्डका ४ वटा पुल असारमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयले साेही पुलको सामान्य बाहेकका काम सकिएकाे जनाएकाे हाे।कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रले खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागिएकाे बताउनुभयाे। ती पुलमध्ये कतिपयको सडकसँग जोड्ने बाटो बनाउन बाँकी रहेकाे छ । पुलको प्लास्टर, रङ रोगन र ट्राफिक सुरक्षा लगायतका सामान्य कामहरू बाँकी रहेकाे हाे। हुग्दी र चरौँदी खोलाको पुल निर्माणाधीन छ । ती पुलको भुँई र पिल्लरको काम भइरहेको छ । अलकत्राको अभावमा रोकिएको कालोपत्रेको काम गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

अलकत्राको मूल्य बढेर आउन छोडेपछि यहाँ कालोपत्रे काम रोकिएको थियो । ढल निर्माण, रेलिङलगायतका काम भने भइरहेको आयोजनाले जनाएको छ । सडक निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ । यस खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । मलेखु, बेनीघाट र मुग्लिन खण्डमा दुई किलोमिटर सडक ६ लेनको बन्ने भएकाे हाे । रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रका सात किलोमिटर सडक ४ लेनको हुनेछ ।

सडकका विभिन्न क्षेत्रमा कालोपत्रेसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा र पुल निर्माण लगायत काम बाँकी रहेकाे हाे। यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको छ। काठमाडाैं प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको कार्यालयले जनाएकाे हाे ।