Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


विगतका सरकारका कमजोरी देखाएर आफूले गरेका त्रुटिको बचाउ गर्न अर्थमन्त्रीले मिल्दैन: एमाले सांसद कँडेल

कर नीतिमा स्थायित्व र ष्टता कायम गर्न सरकार गम्भीर हुनुपर्नेमा जाेड

39
Shares

काठमाडाैं । नेकपा एमाले सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद कँडेलले यस्ताे बताउनुभएककाे हाे। अर्थमन्त्रीले बारम्बार अघिल्ला सरकार र अर्थमन्त्रीहरूलाई दोषारोपण गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सुशासन र सुधारको एजेण्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहोर्‍याउन नहुने बताउनुभएकाे छ । सांसद कँडेलले अर्थमन्त्री स्वयं पनि विगतमा राष्ट्रिय योजना आयोगलगायत नीतिगत निकायमा जिम्मेवारी सम्हालिसकेका व्यक्ति भएकाले अघिल्ला सबै निर्णय र प्रक्रियाबाट आफूलाई पूर्ण रूपमा अलग देखाउन नमिल्ने बताउनुभयो ।

समितिको बैठकमा अर्थमन्त्री वाग्लेले बजेटमा प्राविधिक त्रुटी देखिएकाले सच्चाइउनुपरेको र यसलाई विपक्षीले ठूलो इस्यु बनाएको भन्दै आक्रोश पोख्नुभएको थियो । बैठकमा सांसद कँडेलले मूल्य अभिवृद्धि कर प्रणालीबारे पनि प्रश्न उठाउनुभएकाे छ । नेपालको कर प्रशासनले विगतदेखि बहु–दर भ्याट प्रणालीलाई अस्वीकार गर्दै आएको स्मरण गराउँदै उहाँले अहिले बहुदर भ्याट प्रणालीतर्फ जाने विषयमा पर्याप्त अध्ययन, बहस र तयारी भएको हो वा होइन भन्दै प्रश्न समेत गर्नुभएकाे छ।

सांसद कँडेलले कर नीतिमा स्थायित्व, पूर्वानुमान योग्यता र स्पष्टता कायम गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउँदै कुनैपनि कर सुधार व्यापक अध्ययन र सरोकारवालासँगको परामर्शपछि मात्र कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।