काठमाडाैं । प्रतिपक्ष राजनीतिक दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक भएको टिप्पणी गरेको छ ।
विपक्षी दलहरुको बैठकपछि मंगलबार सिंहदरबारमा बोल्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले गृहमन्त्रीको सम्पत्ति विवरण बारे छानविन गर्न आफ्नै मातहतमा आायेग बनाएर आरोपितहरु चोख्याउने काम गरेको बताउनुभयो । सरकारले सुशासनको नयाँ नारा दिए पनि पुरानै र जनस्तरबाट तिरस्कृत हुने कार्यशैली अपनाएको उहाँको ठहर छ ।
विशेषगरी अर्थ मन्त्रालयसँग जोडिएका पछिल्ला विवादहरूमा गम्भीर प्रश्न उठाउँदै प्रमुख सचेतक महरले संसदीय छानबिनको माग दोहोर्याउनुभयो । बिवाइडी गाडीको आयातमा भएको भनिएको कर छली र आर्थिक विधेयकमा करका दरहरू हेरफेर गरिएको विषयलाई उहाँले ‘नीतिगत भ्रष्टाचार’ र ‘राज्यविरुद्धको अपराध’ को संज्ञा दिनुभएकाे छ ।
विपक्षी दलहरूले सरकारले गठन गरेकाे छानबिन संयन्त्रहरूले निष्पक्ष परिणाम नदिने भन्दै संसद्मार्फत नै उच्चस्तरीय छानबिन हुनुपर्ने अडान राखेका हुन् ।










प्रतिक्रिया दिनुहोस्