काठमाडाैं । काठमाडौंमा नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशिप हुने भएको छ ।
त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा संघले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताकाे बारेमा जानकारी दिएको हो । नेपाल क्लाइम्बिङ स्पोर्ट संघको आयोजनामा यहि जेठ ३० गते शनिबार एकदिने नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशिप हुन लागेको छ । काठमाडौंको कालोपुलस्थित स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने भएकाे छ ।
संघले विश्व क्लाइम्बिङ महासंघको सदस्य समेत रहेको प्रतियोगिता अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप हुने भएको हाे । यस प्रतियोगितामा बोल्डरिङ विधामा मात्र प्रतिस्पर्धा हुनेछ । आर्थिक समस्या र छोटो तयारीका कारण एउटा मात्र विधामा समावेश गर्नुपरेको संघका अध्यक्ष रमेश पौडेलले जानकारी दिए ।
देशका सात वटै प्रदेशबाट १७ वर्ष भन्दा माथिका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष दुवै विधाको क्वालिफिकेसन राउन्ड शुरु हुनेछ । क्वालिफिकेसनबाट उत्कृष्ट प्रदर्शन गर्ने महिला र पुरुषतर्फका समान आठ खेलाडी फाइनल चरणका लागि छनोट हुने भएका हुन् ।
फाइनलपछि दुवैमा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन् । शीर्ष तीन खेलाडीले ३० हजार,२० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा ५० खेलाडीले प्रतिस्पर्धा गर्ने र अहिलेसम्म २३ जना खेलाडी नाम दर्ता गराइसकेका छन् । नेपालमा क्लाइम्बिङ खेलको विकास र प्रवद्र्धन गर्नु खेल आयोजना गरिएको संघले जनाएको हाे ।
साहसिक खेल तथा पर्वतीय पर्यटनको प्रचार प्रसारमा समेत यस प्रतियोगिताले योगदान पुग्ने विश्वास संघले लिएको छ । प्रतियोगिताका क्रममा सहभागी खेलाडी तथा प्राविधिकहरूका लागि दुर्घटना तथा खेल जोखिमलाई मध्यनजर गर्दै बीमाको व्यवस्था पनि गरिने भएको हाे। संघका अध्यक्ष पौडेलले पर्यटन क्षेत्रसँग सम्बन्धित संघ–संस्था तथा निजी क्षेत्रको सहयोग र प्रायोजनले प्रतियोगिता आयोजना गर्न सम्भव भएको बताएका हुन् ।
प्रतियोगिताले नेपालमा क्लाइम्बिङ खेलको लोकप्रियता बढाउन तथा नयाँ प्रतिभा उत्पादन गर्न महत्वपूर्ण भुमिका खेल्ने उनको विश्वास छ । यस प्रतियोगिताका लागि २५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

यसै खेलबाट एसियन गेम्सको छनोटमा चीनमा तीन जना खेलाडी सहभागी भएका थिए । तेन्जिन राई, रोनक उप्रेती र श्वस्तिका चौधरी छनोट प्रतिष्पर्धामा सहभागी भएपनि सफल भएनन् ।










प्रतिक्रिया दिनुहोस्