काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको विद्यमान समस्याहरू चरणबद्ध रुपमा समाधान गरिने बताउनुभएकाे छ।
पाँच दिने भारत भ्रमणसम्पन्न गरेर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले यस्ताे बताउनुभएकाे हाे । नेपाल–भारत सीमा विवाद जस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा समाधान गरिने बताउनुभयाे । सभापति लामिछानेले कुनै पनि विषयको समाधानका लागि कूटनीतिक पहल सबै भन्दा महत्त्वपूर्ण हुने भएकाले हल्ला र सार्वजनिक रूपमा ढोल बजाएर मात्र समस्या समाधान नहुने समेत जानकारी गराउनुभएकाे छ ।
उहाँले अभियन्ता, पत्रकार र राजनीतिक दलले उठाउने विषय तथा तिनको संवेदनशीलता फरक हुने भन्दै राष्ट्रिय हितसँग जोडिएका विषयमा जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयाे। उहाँले अधिकांश उच्च राजनीतिक भ्रमण बन्द कोठामा हुने गरेकामा आफ्नो भारत भ्रमणमा क्रममा पारदर्शी रुपमा छलफल भएको दावी गर्नुभएकाे छ। भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँगको छलफलमा समृद्धिको विषयलाई विशेष जोड दिएको जानकारी दिनुभएकाे छ ।
सभापति लामिछानेले नेपाल–भारत सम्बन्धका केही पक्ष रिसेट गर्न आफ्नो भ्रमणले मद्दत गर्ने भन्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप सकारात्मक ढंगले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयाे । सीमाका विषयमा प्रधानमन्त्रीले सार्वजनिक रूपमा व्यक्त गरेका धारणा र त्यसबारे परराष्ट्र मन्त्रालयले जारी गरेको आधिकारिक धारणालाई नै सरकारको औपचारिक दृष्टिकोण मान्नुपर्ने उहाँको दावी छ ।
सभापति लामिछानेले भारतीय प्रधानमन्त्री माेदीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेको र सकारात्मक जवाफ पाएको बताउनुभयाे ।










प्रतिक्रिया दिनुहोस्