काठमाडौं । सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै खेल पूर्वाधारलाई प्राथमिकतामा राख्दै चार अर्ब बढीको बजेट विनियोजन गरेको बताउनुभएकाे हाे । खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तिमा आठ हजार दर्शक क्षमताका दस वटा फुटबल रंगशालालाई फ्लड लाइटसहितको स्तरोन्नति गर्ने मन्त्री वाग्लेले घोषणा गर्नुभयाे ।
त्यस्तै , उहाँले प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने र विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खैत र धनगढीको फापलामा कम्तिमा दुई हजार क्षमताका मल्टिप्रपोज रंगशाला आगामी तीन वर्षभित्र निर्माण गर्ने जानकारी दिनुभएकाे छ । मूलपानी क्रिकेट रंगशाला तथा एकडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फापला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्ने उहाँले बताउनुभयाे ।
त्यस्तै, सरकारले अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्नेगरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ । सुर्खैतमा दशाैं राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेश प्रदेशमा प्रस्तावित एघारौं राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयाे ।










प्रतिक्रिया दिनुहोस्