काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएका छन् ।
बुधवार काठमाडौंमा ‘एभरेष्ट समिटर्स समिट २०२४’ लाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई साझा विश्वव्यापी दायित्व भएको उल्लेख गरेका हुन् । मन्त्री पौडेलले सगरमाथा आरोहीहरूको शाहस र दृढ संकल्पको प्रशंसा गरे । समिटका क्रममा आयोजित राष्ट्रपतिसँगको ‘प्रेसिडेन्सियल ब्रेकफास्ट’ र आरोहीहरूको शपथ ग्रहण समारोहलाई उनले राष्ट्रिय गौरव र जिम्मेवारीको प्रतीकका रूपमा चित्रण गरेका छन् ।
मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्दै हिमालय क्षेत्रमा देखिएको हिमनदी पग्लिने समस्या र जैविक विविधताको ह्रासलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भयो । हिमालहरू एशियाका लागि ‘वाटर टावर’ का रूपमा रहेको स्मरण गराउँदै उहाँले यसको अस्तित्व जोगाउन वैज्ञानिक सहकार्य र साझा लगानी आवश्यक रहेकोमा जोड दिए ।
उनले भने, ‘आरोहीहरूले लिएको शपथले हिमालयको वातावरण संरक्षण, स्थानीय संस्कृतिको सम्मान र जिम्मेवार पर्वतारोहणप्रतिको सामूहिक प्रतिवद्धतालाई झल्काउँछ । पर्यटन मन्त्रालयमार्फत हामी पर्वतारोहणलाई अझ सुरक्षित बनाउन, उद्धार र आपत्कालीन संयन्त्रमा सुधार ल्याउन तथा हिमाली समुदायलाई सशक्तीकरण गर्दै उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउन क्रियाशील छौँ ।’
उनले नेपाललाई विश्वकै शाहसिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न गाइड, शेर्पा, उद्धारकर्मी र पर्यटन व्यवसायीहरूको अतुलनीय योगदान रहेको स्वीकार गरे ।










प्रतिक्रिया दिनुहोस्