Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


प्रतिव्यक्ति आय तीन डलरले घट्यो


208
Shares

काठमाडाैं । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले देशको अर्थतन्त्रमा एउटा फरक र चिन्ताजनक चित्र प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार यस वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षमा प्रतिव्यक्ति आय एक हजार ५१६ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा तीन डलरले घटेर एक हजार ५१३ डलरमा सीमित हुने देखिएको छ । डलरमा आय घट्नुको मुख्य कारण आन्तरिक उत्पादन मात्र नभएर अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ ५.७ प्रतिशतले अवमूल्यन हुनु हो, जसका कारण रुपैयाँलाई डलरमा रूपान्तरण गर्दा समग्र आम्दानी थोरै देखिन गएको हो ।

यद्यपि, नेपाली रुपैयाँकै रैथाने मूल्यमा हेर्ने हो भने प्रतिव्यक्ति आयमा केही वृद्धि भएको देखिन्छ । गत वर्ष दुई लाख ६ हजार ६२५ रुपैयाँ रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा ५.५ प्रतिशतले बढेर दुई लाख १७ हजार ९४६ रुपैयाँ पुग्ने अनुमान छ । तर, यो वृद्धिदर विगत एक दशकको वार्षिक औसत वृद्धिदर ८.८ प्रतिशतको तुलनामा निकै सुस्त हो । समग्रमा, बजारमा छाएको आर्थिक शिथिलता र न्यून आर्थिक वृद्धिका कारण नै प्रतिव्यक्ति आम्दानीको सुस्तता र डलरमा गिरावट आएको सर्वेक्षणले देखाउँछ ।