Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीको संसद्मा फेरि विरोध


312
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले मंगलबार पनि प्रधानमन्त्रीको खोजी गर्दै विरोध जनाएका छन्। आकस्मिक, शून्य र विशेष समय सकिएपछि सभामुखले कार्यसूची अगाडि बढाउन खोज्दा विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका हुन्।

विरोधपछि सभामुखले बासना थापा लाई बोल्न समय दिएका थिए। उनले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै संसद् केवल संख्याको खेल नभई विचार–विमर्श, उत्तरदायित्व र सहमतिका आधारमा चल्ने सर्वोच्च लोकतान्त्रिक थलो भएको बताइन्।

थापाले प्रतिपक्षको अवरोधबीच विधेयक पारित गर्नु बहुमतको दम्भ भएको टिप्पणी गर्दै प्रधानमन्त्री र सरकारकै कारण संसदीय समितिहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको आरोप लगाइन्।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमले प्रतिपक्षको माग र जनचासोका विषयलाई बेवास्ता गरेको उल्लेख गर्दै उनले यस्तो अभ्यास संसदीय मर्यादाविपरीत भएको बताइन्। “बहुमत सरकार चलाउने आधार हुन सक्छ, तर लोकतन्त्र चलाउने आधार होइन,” उनले भनिन्।