Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


चिनियाँ राष्ट्रपति जिनपिङ र रूसी राष्ट्रपति पुटिनबीच आज विशेष भेटवार्ता हुँदै

विश्वका दुई शक्ति राष्ट्रबीच ४० वटा सम्झौता हुनसक्ने अपेक्षा

0
Shares

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने औपचारिक भ्रमणका लागि चीनमा पुग्नुभएको छ ।

युक्रेनसँगको युद्ध, अमेरिकी प्रतिबन्ध र विश्वमा बढ्दो ध्रुवीकरणकाबीच चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको द्धिपक्षीय वार्ताका लागि राष्ट्रपति पुटिन मंगलबार साँझ बेइजिङ पुग्नुभएको हो । चिनियाँ राष्ट्रपति जिनपिङ र रूसी राष्ट्रपति पुटिनबीच बुधबार राजकीय भेटका साथै द्धिपक्षीय वार्ता हुने भएकाे छ । प्रतिनिधि मण्डलस्तरमा हुने वार्तामा ४० वटा सम्झौता हुनसक्ने अपेक्षा गरिएको रुसी समाचार संस्था तासले जनाएको हाे ।

राष्ट्रपति पुटिनको यो भ्रमण एक वर्षभित्रै दोस्रो चीन भ्रमण हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्केपछिको केही दिनमै भएको रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणलाई विश्व राजनीतिमा अर्थपूर्ण रुपले हेरिएको छ । विश्वको सबै भन्दा रणनीतिक रूपमा महत्वपूर्ण जलमार्गहरू मध्ये एक खतरामा परेपछि चीनले भरपर्दो भूमिगत ऊर्जा आपूर्तिकर्ताको रूपमा रूसतर्फ ध्यान केन्द्रित गरेको जनाइएकाे छ।

एक हप्ताको अन्तरालमा राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनको चीन भ्रमण हुनु चिनियाँ राष्ट्रपतिको पूर्वयोजना भएको विश्लेषकहरुले दावी गरेका हुन् । शक्ति राष्ट्रका प्रमुखहरुबाट भएकाे यी भ्रमणलाई विश्वमा चीनको बढ्दो प्राव र भूमिकाको रुपमा हेरिएको छ ।