Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


कांग्रेसका सभापति थापाले आज जेनजी अगुवासँग संविधान संशोधनकाे बारेमा छलफल गर्दै

छलफलमा संविधानविद् श्रेष्ठ र खनाल पनि सहभागी हुने

65
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले आइतबार संविधान संशोधनका लागि जेनजी अगुवाहरुको राय सुझाव लिनुहुने भएकाे छ।

उहाँले आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरुलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी बाेलाउनुभएकाे हाे । कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नको लागि गठित समितिले उक्त छलफलकाे आयोजना गरेको छ । १८ जना जेनजी अगुवाहरुलाई पत्र पठाएर आमन्त्रण गरिएको कांग्रेसले जनाएकाे हाे । छलफलमा संविधानविद् तेजमान श्रेष्ठ र प्राध्यापक शंकरप्रसाद डा. खनाल लगायत सहभागी हुने भएका छन्।

सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न विभिन्न पक्षसँग छलफल गरिरहँदा कांग्रेसले छुट्टै तयारी गरिरहेको छ । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा कार्यदल बनाएर संविधान संशोधनको लागि सुझाव संकलन गरिएको हाे। ‘संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समिति’ को सदस्यहरुमा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू सदस्य रहेका छन् । उक्त समितिले दुई चरणको छलफल गरिसकेको छ। संविधानविदहरुसँग राय संकलनका लागि छलफल गरिसकेको समितिले आइतबार जेनजी अगुवाहरुलाई बोलाएको हाे ।

प्रधानमन्त्री बालेन्द्र शाहको राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र तयारी छलफलमा भने कांग्रेस सहभागी भएको छैन। शाह नेतृत्वको कार्यदलले जेनजी अगुवाहरुको संविधान संशोधनमा राय संकलन गर्न बोलाए पनि उनीहरूले बहिष्कार गरेका थिए ।