Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


बाजुराकाे कुवाडी खोलामा नुहाउने क्रममा एक बालककाे निधन


13
Shares

जनक बाेहरा-संवाददाता

बाजुरा । बाजुरामा कुवाडी खोलामा नुहाउन गएका एक बालकलाई खोलाले बगाउँदा मृत्यु भएको छ ।

हिमाली गाउँपालिका–१ मैतार्नामा रहेकाे साेही खाेलाले बगाउँदा उनकाे मृत्यु भएकाे हाे । आइतबार दिउँसो करिब ३ बजेतिर स्थानीय चंखलाल थापाका छोरा अन्दाजी १४ वर्षीय नवराज थापा साथीहरूसँग खोलामा नुहाउन गएकाे समयमा बगेर बेपत्ता भएका थिए। नवराजसँगै विराज थापा, विशाल थापा र किस्मत थापा समेत खोलामा पुगेका थिए।

नवराज खोलाले बगाएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बिच्छिया, बाजुराबाट प्रहरी हवल्दारको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा खोजतलास गर्दा सोमबार दिउँसो १ बजेतिर नवराज थापा मृत अवस्थामा फेला परेका हुन् । मृतक नवराजको शव बगेको स्थानबाट करिब ४ सय मिटर तल खोलामा फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थलतर्फ खटिएको छ। घटनाकाे बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको हाे ।