एजेन्सी । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा गत शनिबार राति भएको एक भीषण आत्मघाती बम आक्रमणमा परी मृत्यु हुने प्रहरी जवानकाे संख्या १५ जना पुगेकाे छ।
सुरक्षा निकायको एक प्रतिष्ठानलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा अन्य कैयौं सुरक्षाकर्मी घाइते भएका हुन् । आधिकारिक स्रोतले प्रान्तको बन्नु जिल्लामा विस्फोटक पदार्थले भरिएको एक सवारी साधनलाई सुरक्षा प्रतिष्ठानमा ठोक्काएर विष्फोट भएकाे जनाएकाे छ। विष्फोटका कारणा भौतिक संरचनामा ठूलो क्षति पुगेको हाे ।
सुरक्षा स्रोतलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले सवारी साधनमार्फत गरिएको विष्फोटलगत्तै क्वाडकोप्टर ड्रोनको प्रयोग र हतियारधारी समूहले स्थलगत आक्रमण समेत गरेकाे जनाएकाे छ। विष्फोटका कारण ध्वस्त भएको संरचनाको भग्नावशेषमा अन्य शवहरू पुरिएको हुनसक्ने आशंकामा भारी मेसिनरी प्रयोग गरी उद्धार तथा खोजी कार्य जारी राखिएको हाे। बम डिस्पोजल टोलीको प्रारम्भिक अनुमान अनुसार उक्त आक्रमणमा १ हजार २ सयदेखि १ हजार ५ सय किलोसम्म विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।
उक्त आक्रमणको जिम्मेवारी ‘इत्तेहाद–उल–मुजाहिद्दीन पाकिस्तान’ (आईएमपी) नामक सशस्त्र समूहले सामाजिक सञ्जालमार्फत लिएको हाे। अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा पछिल्ला महिनाहरूमा सुरक्षाकर्मी र कानून कार्यान्वयन गर्ने निकायहरूलाई लक्षित गरी हुने आक्रमणका घटनामा उल्लेख्य वृद्धि भएको छ ।










प्रतिक्रिया दिनुहोस्