काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूका साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाका साथै मधेश, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेकाे छ ।
आज दिउँसो हिमाली र पहाडी भू-भागमा साधारणतया र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातका साथै तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्