Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नेपालमा ‘भूमिगत शैली’मा धर्म परिवर्तन हुँदै

धर्मान्तरण गतिविधिका कारण सामाजिक संरचनामै चुनौती थपिंदै

0
Shares

काठमाडौं । सार्वजनिक रूपमा नदेखिए पनि ‘भूमिगत’ शैलीमा नेपालमा धर्म परिवर्तन भइरहेको छ।

जसका कारण नेपालमा धर्म परिवर्तनको विषय फेरि बहसको केन्द्रमा आएको हाे ।धर्मान्तरणका गतिविधिका कारण सामाजिक संरचनामै चुनौती थप्दै पारिवारिक सम्बन्ध र धार्मिक सहिष्णुतामै असर पर्नसक्ने सम्भावना देखिएको छ। हालैका केही घटनाले यो प्रवृत्तिको संकेत दिएको छ । एक चर्चित लोकगायकले आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन अस्वीकार गरेको घटनाले उनको परिवार र समुदायमा गहिरो असर पारेको हाे । परम्परागत हिन्दु संस्कारमा हुर्किएका उनी बाबुको मृत्युमा किरिया बसे पनि आमाको हकमा त्यसो नगरेपछि सामाजिक रूपमा व्यापक टिका टिप्पणी भयो ।

त्यस्तै, मधेश प्रदेशमा एक युवक–युवतीबीचको प्रेम सम्बन्ध विवाहको तयारीकै क्रममा धर्मसम्बन्धी मतभेदका कारण टुटेको घटना पनि सार्वजनिक भएको छ । मधेश प्रदेशका वासिन्दा ललाट र रमिलाको फेसबुकबाट शु रु भएको प्रेम प्रत्यक्ष भेटघाट र शारीरिक सम्पर्कसम्म पुग्यो । गत मंसिरमा विवाह गर्ने टुंगोमै पुगिसकेका यी प्रेम जोडीले विवाहअघि नै जनकपुर र लहानका होटेल र रिसोर्टहरूमा हनिमुन मनाए । झा र मिश्र परिवारका ती दुई सनातनी हिन्दु संस्कारकै व्यक्ति हुन् भन्ने सबैलाई लागेको थियो ।

जानकारहरूले धर्म परिवर्तन गराउने समूहहरूले प्रत्यक्ष दबाब भन्दा पनि अप्रत्यक्ष प्रभाव, सामाजिक सेवा, शिक्षा र स्वास्थ्यजस्ता माध्यम प्रयोग गर्ने गरेकाे बताएका छन् । यस्तो प्रक्रियालाई ‘स्वेच्छिक निर्णय’का रूपमा प्रस्तुत गरिने हुँदा कानूनी प्रमाण जुटाउन कठिन हुने देखिएकाे छ । तर, मंसिरको विवाहको तयारी क्रममा कात्तिकमा केटीले आफू प्लस टु पढ्दादेखि नै क्रिस्चियन बनेको भन्दै विवाहमा आफूले रातो पहिरन, सिन्दुर–पोते नलगाउने बताएपछि केटो जिल्ल पर्याे । कट्टर हिन्दु परिवारको केटोले बाबुआमालाई सम्झाउन सकेन, सम्बन्ध तोडियो ।

त्यस्तै, काठमाडौं उपत्यकामा पनि आर्थिक अवस्थासँग जोडिएर धर्म परिवर्तनको लहर चलेको देखिन्छ। केही परिवारमा सन्तानको शिक्षाजस्ता सुविधाका लागि धर्म परिवर्तनको प्रस्ताव आउँदा त्यसले पारिवारिक विवाद निम्त्याउने गरेको उदाहरणहरू भेटिएका छन् । काठमाडौं भोटेचौरकी आमाले छोरालाई राम्रो विद्यालयमा पढाउन आफ्नो पतिलाई धर्म परिवर्तन गर्नका लागि मनाउने प्रयास गरेकी थिइन् ।

बौद्धमार्गी ती गरिब दम्पतीबीच यसै विषयलाई लिएर झगडा पनि भयो । धर्म परिवर्तन गरीगरी छोरालाई अंग्रेजी पढाउनु छैन भनेर बाबुले अड्डी लिएपछि आमाले पनि छोरालाई सामुदायिक विद्यालयमा भर्ना गर्न सहमति जनाइन् । तर, थपक्क क्रिस्चियन बनाएर राम्रो स्कुलमा भर्ना गरेको भए, छोराको पढाइ राम्रो हुन्थ्यो, धार्मिक कट्टरताले छोराको भविष्य बिग्रिने भो भनेर बेलाबेलामा आमाले बाबुचाहिँलाई वचन लाउने भने छाडेकी छैनन् । यी घटनाहरूले धर्म परिवर्तनको विषय केवल व्यक्तिगत आस्थासँग सीमित नरही सामाजिक र आर्थिक आयामसँग जोडिँदै गएको संकेत गरेको छ । पछिल्लो समय हिन्दु र बौद्ध धर्मका अनुयायीको संख्या घटेको तर इसाइहरूको संख्या बढेको देखिएपछि भूमिगत शैलीमा धर्मान्तरण हुने गरेको संकेत पाइएको छ ।

धर्म परिवर्तन गरेर विकसित मुलुकको सहयोग पाइन्छ वा त्यहाँ गएर सुविधा लिन सकिन्छ भने खासगरी हिन्दु, बौद्ध परिवारका नेपालीहरू क्रिस्चियन बन्न तयार हुनेगरेको घटनाहरू दिन–प्रतिदिन बढ्न थालेको छ । पछिल्लो राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा हिन्दु धर्मका अनुयायीको संख्या कुल जनसंख्याको ८१.२ प्रतिशत रहेको छ । यसरी हेर्दा नेपालमा २ करोड ३७ लाखले हिन्दु धर्म मान्छन् ।

कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको नेपालमा दोस्रो ठूलो परिमाण बौद्धको छ । उनीहरू ८.२५ प्रतिशतका साथ दोस्रो र ५.१५ प्रतिशतका साथ इस्लाम धर्म मान्नेहरू तेस्रो ठूलो संख्यामा छन् ।यस्तै, ३.२ प्रतिशत जनसंख्याले किराँत धर्म मान्छन् भने इसाई धर्म १.८ प्रतिशतले मानेको देखिन्छ । यसअघि २०६८ सालमा भएको जनगणना अनुसार हिन्दु, बौद्ध, इस्लाम, किरात र क्रिश्चियन धर्म मान्नेको प्रतिशत क्रमशः ८१.३, ९, ४.४, ३ र १.१४ प्रतिशत रहेको थियो ।

नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । तर, कसैलाई धर्म परिवर्तन गराउन नपाइने स्पष्ट व्यवस्था पनि छ । कानुनी रूपमा जबरजस्ती वा प्रलोभनमार्फत गराइने धर्म परिवर्तन दण्डनीय मानिन्छ । यद्यपि, व्यवहारमा भने यो प्रावधान कार्यान्वयन चुनौतीपूर्ण देखिएको हाे । जानकारहरूका अनुसार धर्म परिवर्तन गराउने समूहहरूले प्रत्यक्ष दबाबभन्दा पनि अप्रत्यक्ष प्रभाव, सामाजिक सेवा, शिक्षा र स्वास्थ्यजस्ता माध्यम प्रयोग गर्ने गरिएको छ । यस्तो प्रक्रियालाई‘स्वेच्छिक निर्णय’का रूपमा प्रस्तुत गरिने हुँदा कानुनी प्रमाण जुटाउन कठिन हुने बताइन्छ । नेपालजस्तो विकासोन्मुख मुलुकमा वैदेशिक सहयोगको भूमिका महत्वपूर्ण छ ।

तर, गैरसरकारी संस्थामार्फत आउने केही सहयोग धार्मिक गतिविधिसँग जोडिने गरेको आरोप पनि बेलाबेलामा उठ्ने गरेको हाे । यसले धर्म परिवर्तनमा आर्थिक प्रलोभनको तत्व मिसिएको हुनसक्ने आशंका व्यक्त गरिन्छ । २०४६ सालपछि नेपालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएसँगै विभिन्न धार्मिक तथा साँस्कृतिक पहिचानप्रति आकर्षण बढेको देखिन्छ । यसलाई सकारात्मक धार्मिक स्वतन्त्रताको अभ्यासका रूपमा पनि हेरिन्छ । तर, त्यहि स्वतन्त्रताको आडमा असन्तुलित हस्तक्षेप भएमा सामाजिक सद्भावमा असर पर्न सक्ने चिन्ता पनि बढ्दै गएको छ ।

विशेषगरी जातीय विभेद, लैङ्गिक असमानता र गरिबी जस्ता संरचनागत समस्यालाई आधार बनाएर धर्म परिवर्तनको अभियान सञ्चालन भइरहेको आरोप लाग्ने गरेको हाे । यदि, यस्ता गतिविधि नियन्त्रणबाहिर गए भने यसले धार्मिक असहिष्णुता र सामाजिक ध्रुवीकरण निम्त्याउन सक्ने चेतावनी विज्ञहरूले दिंदै आएका छन् ।