Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रधानमन्त्री शाहद्वारा संवैधानिक परिषद्को बैठक आह्वान


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार साँझ ५ बजेका लागि बैठक आह्वान गरिएकाे हाे । हाल सर्वोच्च अदालतको प्रधानन्यायाधीश लगायत संवैधानिक पदहरू रिक्त रहेका छन् । संवैधानिक परिषद् बैठक नबस्दा प्रधानन्यायाधीशको जिम्मेवारी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सम्हाल्दै आउनुभएकाे हाे ।

प्रधानमन्त्रीको सचिवालयले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको जानकारी दिएकाे छ । बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको सचिवालयले जनाएको हाे ।

बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुरलाई आमन्त्रण गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद् अध्यक्षका हैसियतमा प्रधानमन्त्री शाहले बैठक आह्वान गर्नुभएकाे हाे । नयाँ अध्यादेश जसअनुसार संवैधानिक परिषद्को बैठकको गणपूरक संख्या चार कायम गरिएको छ । गणपुरक संख्याको बहुमतबाट निर्णय गर्ने प्रावधान समेटिएको छ ।