काठमाडौं । काठमाडौंको सानो भर्याङमा रहेको निजी विद्यालय स्वस्तीश्री गुरुकुलकाे विद्यार्थी र अभिभावकलाई लाखाैं रूपैयाँ ठग्ने धन्दा अझै राेकिन सकेकाे छैन ।
सोही विद्यालयले नेपाल सरकार, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति नै नलिई आईबी डिपीको पाठ्यक्रम संचालन गरेर विद्यार्थी र अभिभावकलाई ठगिरहेको हो । स्वस्तीश्रीले कक्षा ११ र १२ मा अनुमति नै नलिई आईबी डिपीमा भर्ना लिदै पाठ्यक्रम संचालन गरेर अभिभावक र विद्यार्थीबाट लाखौं रुपैयाँ ठगिगरिरहँदा पनि सरकारी निकाय भने चुपचाप छन् । गैर कानूनी रुपमा विदेशी पाठ्यक्रम संचालनको समाचार आएपछि संचालकहरु आफ्नो गल्ति ढाकछोप गर्ने कसरतमा लागिरहेका स्रोतको जनाएकाे हाे ।
आईबी डिपी कक्षा ११ र १२ को पाठ्यक्रम हो । जुन स्विट्जरल्यान्डको इन्टरन्याशनल बाकलोरिएट अर्गनाइजेसनको पाठ्यक्रम हो । यो निकै महंगो पाठ्यक्रम मानिन्छ । यो पाठ्यक्रम नेपालका विद्यालयहरुमा पढाउन नेपाल सरकारको अनिवार्य स्वीकृति चाहिन्छ । तर स्वस्तीश्रीले सरकारबाट अनुमति नलिइकन यो पाठ्यक्रम संचालन गरिरहेको छ । तर अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई मिलेमतोमा सबै अभिभावकलाई ढाँटेर विद्यार्थीको भविष्यसँग खेलबाड गरी अनुमतिबिना नै पढाइरहँदा विद्यार्थीको भविष्य र लगानी डुब्ने अवस्था आएको हाे ।
शिक्षा मन्त्रालयका अधिकारीहरुले सरकारी अनुमतिबिना पाठ्यक्रम सञ्चालन गर्दा समकक्षता निर्धारण नहुने बताएका छन् । विद्यार्थीले विदेशमा अध्ययनका लागि जान खोजेमा उनीहरुले सरकारी निकायबाट प्राप्त हुने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) समेत पाउने छैनन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७२ सालदेखि विदेशी पाठ्यक्रमलाई अनुमति दिएको छैन ।
तर बीचमा मन्त्रिपरिषदको निर्णयबाट केही विद्यालयले अनुमति पाएका थिए । मन्त्रालयका विद्यालय शाखा प्रमुख कृष्ण चन्द्र पोखरेलले स्वस्ती श्रीले आईबी डीपी संचालनको अनुमति नपाएको तर अनुमतिका लागि निवेदन दिएको बताउनुभयो । शाखा प्रमुख पोखरेलले निवेदन दिएकै भरमा अनुमति नै नपाई त्यसरी विदेशी पाठ्यक्रमको कक्षा संचालन गर्नु गैर कानूनी भएको बताउनुभएकाे छ ।
अनुमति नपाएको विदेशी बोर्डको परीक्षा दिंदा विद्यार्थीले छात्रबृत्तिका लागि स्वदेश तथा विदेशमा समेत मौका पाउन समस्या हुने देखिएको छ । अनुमति नलिई विदेशी बोर्डको पाठ्यक्रम सञ्चालन गरेका विद्यालयबाट प्रमाणपत्र पाएका विद्यार्थीहरूलाई विदेशी प्रमाणपत्रका आधारमा नेपालमा समकक्षता नदिने शिक्षा मन्त्रालयले जनाएकाे हाे । विद्यार्थी र अभिभावकलाई भ्रममा पारेर कक्षा संचालन गर्ने शिक्षण संस्थाहरूलाई कानून बमोजिम कारबाही गरिने चेतावनी मन्त्रालयको छ । यसप्रति विद्यार्थी र अभिभावक पनि सचेत हुनुपर्ने शाखा प्रमुख पोखरेलले बताउनुभयो ।
किनकी आफ्ना छोराछोरी अध्ययन गर्ने र गर्न लागेका बिद्यालय के कस्तो हो उसले सरकारबाट विदेशी पाठ्यक्रम संचालन गर्ने अनुमति पाएको छ कि छैन भन्ने कुरामा अभिभावक जिम्मेवार हुनुपर्छ । शिक्षा क्षेत्रका जानकारहरु पनि यसरी अनुमति नलिइ विदेशी पाठ्यक्रम संचालन गरिनु सरासर ठगी भएको र जसले नेपालको शिक्षा क्षेत्रलाई बद्नाम गर्ने हुनाले तत्काल कारबाही हुनुपर्ने बताउँछन् । सोही विद्यालयले आफूहरुले अनुमति लिने काम भइरहेको भन्दै विद्यार्थी तथा अभिभावकलाई झुक्याएर विद्यार्थी भर्ना गर्ने गरेको स्रोतले जनाएकाे हाे ।
उक्त विद्यालयले पाठ्यक्रम संचालन अनुमतिका लागि सरकारी निकायमा निवेदन दिएकै भरमा अनुमति नै नपाई यसरी महँगो पाठ्यक्रम पहुचका भरमा संचालन गरिरहेको छ । सरकारले नेपालमा केही निजी क्षेत्रका विद्यालयलाई मात्रै धेरै अगाडिदेखि यो पाठ्यक्रम संचालनका लागि अनुमति दिएको थियो । विद्यार्थीहरुले आईबी डिपीको कक्षामा ११र १२ मा गरी दुई वर्षमा प्रति विद्यार्थी २० लाख रुपैयाँ भन्दा बढी बुझाउने गरेका छन् । अनुमति नलिई स्वस्तीश्रीले आईबी डिपीलाई डिप्लोमा प्रोग्राम भनेर आफ्नो वेब साइटमा स्पष्ट रुपमा राखेर विज्ञापन गरिरहेको छ ।
विद्यालय संचालन र व्यवस्थापनको जिम्मेवारी संविधानले स्थानीय तहलाई दिएको छ । तर पाठ्यक्रमबारे स्थानीय तहलाई अधिकार छैन । नागार्जन नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण बहादुर कुँवरले स्वस्तीश्रीले कक्षा १२ सम्म कक्षा संचालन गर्ने अनुमति पाएको तर पाठ्क्रमकाे बारेमा आफूहरुको अधिकार नभएको बताउनुभयो ।
शाखा प्रमुख कुँवरले स्वउहाँले पाठ्यक्रम संघीय सरकारले हेर्ने भएकाले स्थानीय तहलाई जानकारी नहुने समेत उल्लेख गर्नुभएकाे छ।










प्रतिक्रिया दिनुहोस्