Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अवरूद्ध भएका अरनिको राजमार्ग र कान्तिलोकपथसहिद अन्य मुख्य राजमार्ग सञ्चालनमा

वीपी र मध्यपहाडी राजमार्ग भने अझै अवरूद्ध

325
Shares

काठमाडौं । केही दिनदेखिको अविरल वर्षासँगै आएको बाढी-पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका अरनिको राजमार्ग र कान्तिलोकपथसहिद अन्य मुख्य राजमार्गमा यातायात सञ्चालन भएका छन् ।

वीपी राजमार्ग र मध्यपहाडी राजमार्गका केही खण्डहरु भने अझै पनि अवरुद्ध रहेकाे प्रहरीले जनाएकाे हाे । प्रहरीले ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभानभित्रि सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग र मकवानपुर भिमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात संचालन भएकाे जनाएकाे हाे ।

त्यस्तै, भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालन भएका छन् । त्यसैगरी इलामस्थित रोङ गाउँपालिका–६ सलकपुर डखेप हुँदै झापा जाने भित्री कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ घुमाउने चारसयबेँसीस्थित वीपी राजमार्ग सडकखण्ड र लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्ग भने पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको हाे ।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी चल्ने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । वर्षातको समयमा बाढी पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको हाे ।