काभ्रे । काभ्रेकाे राेशी खोलामा गत शनिबार अविरल वर्षासँगै आएको बाढीका कारण वीपी राजमार्गमा फसेका ८९ जना यात्रुकाे सकुशल उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले रोशी गाउँपालिका-७ घुमाउनेमा ५ वटा ईभी हाईसमा फसेका यात्रुकाे उद्धार गरेकाे जनाएकाे हाे । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयले साेमबार राति मध्यरातसम्म अलपत्र परेका यात्रुकाे उद्धार गरेका थिए । ट्राफिक प्रहरीले रोक्दा रोक्दै अटेर गरेर हिडेका हायस बीचबाटोमा फसेका हुन् ।
सुरक्षित स्थानमा रोक्दा रोक्दै लापरबाहीपूर्ण तरिकाले यात्रुहरूको जीउधनलाई समेत खतरा पुर्याई सवारी चलाएकाे आराेपमा ५ माइक्रोबसका ५ जना चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको हिरासतमा राखेर आवश्यक अनुसन्धान कार्य भइरहेको कार्यालयका प्रहरी उपरीक्षक रविन विष्टले जानकारी दिनुभयाे।
वर्षाका कारण आएको बाढीले काभ्रेपलाञ्चाेकमा जनधनको ठूलो क्षति भएको छ । खानीखोला गाउँपालिका- ७ निवासी ४३ वर्षीय सेते रुम्बालाई बागमती खोलाले बगाउँदा ज्यान गएको हाे । खोला तर्ने क्रममा उनलाई बगाएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले जानकारी दिनुभयाे ।
धुलिखेल-५ श्रीखण्डपुरमा विद्यालयबाट फर्कंदै गरेको बस बाढीमा फसेपछि अलपत्र परेका ३५ विद्यार्थी र शिक्षकलाई शशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ । सोमबार दिउँसोदेखिको वर्षाका कारण काभ्रेको जनजीवन प्रभावित भएको हाे ।
साथै वीपी राजमार्ग अवरुद्ध हुनुका साथै अरनिको राजमार्गको निर्माणाधीन साँगा–धुलिखेल खण्ड समेत जोखिमपूर्ण बनेको प्रहरी कार्यालय काभ्रे जनाएकाे छ ।














प्रतिक्रिया दिनुहोस्