Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सुकुम्बासी बस्तीका बालबालिकालाई निःशुल्क पढाउने निजी विद्यालय सञ्चालकको घोषणा (विज्ञप्तिसहित)

बालबालिकाको पठनपाठनमा पर्न सक्ने अवरोधप्रति गहिरो चासो व्यक्त

208
Shares

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले सुकुम्बासी बस्तीका बालबालिकालाई निःशुल्क पढाउने घोषणा गरेका छन् ।

सञ्चालकहरूले आइतबार राति संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् । प्याब्सन, एन–प्याब्सन, हिसान र एपेनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सरकारले काठमाडौं उपत्यकाका विभिन्न नदी किनार र देशभरका जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासी बस्तीहरू हटाउने कार्यलाई तीव्रता दिएको सन्दर्भमा ती समुदायका बालबालिकाको पठनपाठनमा पर्न सक्ने अवरोधप्रति गहिरो चासो व्यक्त गरेका छन् ।

नेपालको संविधानले प्रत्याभूत गरेको बालबालिकाको आधारभूत शिक्षाको मौलिक अधिकार कुनै पनि परिस्थितिमा हनन हुन नहुने कुरामा जोड दिएका हुन् । वर्तमान संवेदनशील अवस्थामा स्थानीय तहसँग सहकार्य गरी समस्या समाधानमा रचनात्मक सहयोग पुर्याउन आफूहरू प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, स्थानीय तह र सम्बन्धित निकायहरूसँग समन्वय गरी प्रभावित तथा वास्तविक सुकुमबासी परिवारका बालबालिकाको शिक्षाको निरन्तरता सुनिश्चित गर्न आवश्यक सहयोग र सहजीकरण गर्न तत्पर रहेको उनीहरूले भनाइ थियाे ।

जारी विज्ञप्तिमा एपेनका अध्यक्ष बद्रि प्रसाद दाहाल, एन–प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, हिसानका अध्यक्ष युवराज शर्मा र प्याब्सनका अध्यक्ष कृष्ण फ्रसाद अधकिारीले हस्ताक्षर गरेका छन् ।