Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


प्रधानमन्त्रीकै निर्देशनमा सुकुम्बासीमाथि ज्यादती भयो : सांसद


1.1k
Shares

काठमाडाैं । काठमाडाैं राष्ट्रिय सभाका सांसदहरूले सरकारले बिनातयारी सुकुम्बासी बस्ती खाली गराएको भन्दै आपत्ति जनाएका छन् ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो आपत्ति जनाएका हुन् । बिना तयारी र पूर्वसूचना समेत नदिई सुकुम्बासी बस्ती हटाउँदा बालबालिका र परिवारहरूमा मानसिकदेखि दैनिक आधारभूत समस्या परेको उनीहरूको भनाइ छ ।

बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकार अमानवीय तरिकाले अघि बढेको आरोप लगाएका छन् । उनले साना बालबालिका रातभर रोइरहेको, परिवारहरू विस्थापित भएको तथा हृदयविदारक दृश्यहरू सार्वजनिक भएको उल्लेख गर्दै यसको जति आलोचना गरेपनि कम हुने बताए । रिजालले प्रधानमन्त्रीकै निर्देशनमा कुनै वैकल्पिक व्यवस्था नगरी, कम्तीमा एक हप्ताको समयसमेत नदिई बस्ती खाली गराइएको भन्दै सुरक्षाकर्मी परिचालनमार्फत सुकुम्बासीमाथि ज्यादती गरिएको आरोप पनि लगाए । उनले समितिले यस विषयमा गम्भीर चासो लिएर प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुपर्ने माग गरे ।

लोकतान्त्रिक समाजवादी पाटी, नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारका पछिल्ला कार्य र केही निर्णयहरूले मुलुकमा नकारात्मक प्रभाव मात्रै बढाएको टिप्पणी गरे । सरकारप्रति देशभर असन्तुष्टि बढ्दै गएको बताए । ठाकुरले प्रधानमन्त्रीले मधेसको समस्या काठमाडौं नआई स्थानीय तहबाटै समाधान हुने अभिव्यक्ति दिएको स्मरण गराउँदै वास्तविकता त्यस्तो नभएको जिकिर गरेका छन् । साथै, क्षेत्र विकासका लागि सांसदहरूलाई दिइने बजेट हटाइएकोप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णय सच्याउन सरकारसँग माग गरे ।

उनले भने, ‘जेन–जीका नाममा सर्वोच्च अदालदेखि सिंहदरबारसम्मका राष्ट्रका धरोहरहरुलाई नष्ट गर्ने काम गरियो । त्यसपछि मुलुकमा जेजस्ता घटनाहरु भइरहेका छन् ती नकारात्मक घटनाहरु मात्रै छन् । अहिले मधेसमै पनि गडबड भइरहेको छ भने आवाज उठ्न थालेको छ ।

प्रधानमन्त्रीले मधेशको समस्या हल गर्न काठमाडौं आउनै पर्दैन त्यही समाधान हुन्छ भन्नुभयो तर त्यस्तो छैन । क्षेत्र विकासको लागि सांसदहरुलाई दिइने बजेट पनि हटाइयो । यसलाई सच्यिाइयोस् ।’ बैठकमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी बस्ती खालि गराएकोप्रति सरकारको आलोचना गरेका छन् ।