Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


होस्टेल कार्यविधिमा कडाइ, नियम नमान्नेलाई बन्द गर्नेसम्मको कारबाही


884
Shares

काठमाडौं ।
काठमाडौं महानगरपालिकाले ‘होस्टेल सञ्चालन व्यवस्थापन कार्यविधि, २०८०’ जारी गरेर महानगरभित्रका सबै होस्टेलहरूलाई नियमन र अभिलेखीकरणको दायरामा ल्याउन शुरु गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार महानगरपालिकाभर अहिले पाँचवटा अनुगमन उपसमितिहरू सक्रिय रहेका छन् ।

जसमा वडा कार्यालय र व्यवसायी संघका प्रतिनिधिहरू पनि सहभागी छन् । महानगरले मुख्यतया ६ वटा महत्वपूर्ण पाटाहरूमा केन्द्रित रहेर अनुगमन गरिरहेको छ । प्रशासनिक अवस्था, भौतिक पूर्वाधार (शौचालय, किचेन आदि), आर्थिक पारदर्शिता, खाद्यान्नको गुणस्तर, अभिलेखीकरण र विद्यार्थी कल्याणबारे अनुगमन गरिएको उहाँले बताउनु भयो ।

आफूहरुको मुख्य उद्देश्य होस्टेल बन्द गर्ने भन्दा पनि सुधार गर्ने भएको र व्यवसायीहरूलाई क्रमिक रूपमा सुध्रिने मौका दिइने बताउनु भया । अनुगमनका क्रममा कतिपय होस्टेलहरू महानगरमा दर्ता नै नभई सञ्चालन भएको भेटिएका छन् भने कतिपयमा न्युनतम पूर्वाधारको समेत अभाव देखिएको छ । शिक्षा अधिकृत केशव ज्ञवालीले महानगरले कमजोरी देखिएका होस्टेलहरूलाई निश्चित समय सीमा तोकेर सुधार गर्न निर्देशन दिएको छ ।

यदि दिएका सुझावहरू कार्यान्वयन नभएमा कार्यविधि अनुसार कडा कारबाही र होस्टेल नै बन्द गर्ने प्रक्रिया अगाडि बढाइने उहाँले बताउनु भयो । उहाँले व्यवसायीहरूको हकहित प्रवद्र्धन गर्दै मर्यादित व्यवसायको वातावरण सिर्जना गर्ने महानगरको दृढता रहेको व्यक्त गर्नुभयो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडा सदस्य अनिलकुमार श्रेष्ठले अनामनगर क्षेत्रका होस्टेलहरूको स्थलगत निरीक्षण गर्दै व्यवसायीहरूलाई स्वास्थ्य र सरसफाईमा विशेष केन्द्रित हुन निर्देशन दिनुभयो । अनुगमनका क्रममा उहाँले होस्टेल व्यवसाय केवल पैसा कमाउने माध्यम मात्र नभई एक संवेदनशील सेवामूलक क्षेत्र भएको स्पष्ट पार्नुभयो ।

श्रेष्ठकाअनुसार होस्टेल सञ्चालकहरूमा सामान्य स्वास्थ्य सम्बन्धी ज्ञान हुनु अनिवार्य छ । काठमाडौं महानगरपालिका २९का वडा सदस्यक अनिलकुमार श्रेष्ठले विशेषगरी खानेकुराको गुणस्तरमा जोड दिँदै सकेसम्म अर्गानिक खानेकुराहरू खुवाउन सुझाव दिनुभयो ।

निरीक्षणका क्रममा केही गम्भीर समस्याहरू पनि देखिएका छन् । भ¥याङको चेपमा समेत विद्यार्थी सुताउने गरिएको र झ्यालै नभएको कोठाहरूमा विद्यार्थी व्यवस्थापन गरिएको गुनासो प्राप्त भएको भन्दै ती क्षेत्रहरूको पनि अनुगमन बाँकी रहेको उहाँले बताउनु भयो ।