Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


काठमाडाैं विश्वकै वायु प्रदूषणको एक नम्बर सूचीमा (विवरणसहित)

घरबाहिर ननिस्कन, मास्क अनिवार्य प्रयोग गर्न र धुलो तथा धुवाँबाट जोगिन स्वास्थ्यकर्मीकाे सुझाव

377
Shares

काठमाडाैं । काठमाडाैं उपत्यकाको हावा सबै समूहका मानिसको लागि अति अस्वस्थ अवस्थामा पुगेको छ ।

बिहीबार बिहान पनि अति अस्वस्थ अवस्थामा पुगेको हावा दिउँसोपछि केही सुधार भएको थियो । शुक्रबार बिहान पुनः अति अस्वस्थ अवस्थामा पुगेको हो । शुक्रबार बिहान १० बजे काठमाडाैं उपत्यकामा हावाको गुणस्तर मापन सूचक एक्युआई २ सय ४७ सम्म पुगेको छ । एक्युआई २ सय भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।

काठमाडाैं विश्वका ठूला शहरमध्ये वायु प्रदूषण उच्च रहेका सहरहरूको सूचीको पहिलो नम्बरमा पुगेको छ । उपत्यकासहित देशका सबैजसो ठाउँमा वायु प्रदूषण बढेको हाे । वातावरण विभागले सञ्चालन गरेका सबै मापन केन्द्रहरूले रातो रङ्गको चेतावनी दिइरहेका छन् । एक्युआई १ सय ५० भन्दा माथि पुगेपछि मापन केन्द्रहरूले रातो सङ्केत गर्छन् ।

जसको अर्थ त्यो ठाउँको हावा सबैका लागि अस्वस्थ रहेको हुन्छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले र्षाको अभाव, सुख्खायाम, कृषि अवशेष जलाउने प्रवृत्ति र वन डढेलोले प्रदूषण बढाउन मुख्य भूमिका खेलेकाे बताउनुभयाे । वन तथा भूसंरक्षण विभागको विवरण अनुसार अहिले देशका ७८ भन्दा बढी ठाउँमा डढेलो लागिरहेको छ ।

डढेलो विशेष गरी पश्चिम तराईमा लागेको हो । वायु प्रदूषणले श्वासप्रश्वासजन्य रोगसँगै मुटु लगायतका जोखिम पनि बढाउँछ । प्रदूषण बढेकाे समयमा अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन, मास्क अनिवार्य प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका हुन् ।