Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


जथाभाबी पार्किङ गर्ने सवारी साङ्लोमा बाँधिए


598
Shares

सुशिल गैरे, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटा बजारमा अव्यवस्थित पार्किङ नियन्त्रण गर्न ट्राफिक प्रहरीले फरक शैली अपनाएको छ।

परम्परागत ह्वील लक अभावमा अब जथाभाबी पार्किङ गरिएका सवारी साधनलाई साङ्लोले बाँधेर नियन्त्रणमा लिन थालिएको हो, जसले बजारमा अनुशासन कायम गर्ने प्रयासलाई थप कडा बनाएको छ।

शिवराज नगरपालिकाको मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको चन्द्रौटामा पछिल्लो समय सवारी चाप अत्यधिक बढेसँगै सडक किनारमै पार्किङ गर्ने प्रवृत्तिले दैनिक जाम र दुर्घटनाको जोखिम बढाउँदै आएको थियो। पैदल यात्रु समेत सास्ती खेप्न बाध्य भएपछि ट्राफिक प्रहरीले निगरानी कडा बनाएको जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार सीमित स्रोतबीच पनि प्रभावकारी नियन्त्रणका लागि साङ्लो प्रयोग गरिएको हो। “ह्वील लक पर्याप्त नभएकाले वैकल्पिक उपाय अपनाएका हौँ, नियम उल्लङ्घन गर्ने सवारीलाई अब सीधै नियन्त्रणमा लिइन्छ,” उनले बताए।

ट्राफिक प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले बजारका संवेदनशील क्षेत्रमा नियमित अनुगमन गरिरहेको छ। यात्रुवाहक सवारी र अटोका लागि छुट्टै पार्किङ स्थल तोकिए पनि चालकहरूले अटेरी गर्दा समस्या झन् बढेको ट्राफिक प्रहरी पोस्ट चन्द्रौटाका प्रहरी नायब निरीक्षक दीपकराज गिरीले बताएका छन्।

स्थानीयले भने यस अभियानलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूका अनुसार सडक खाली हुँदा आवतजावत सहज भएको छ भने बजारको स्वरूप पनि व्यवस्थित देखिन थालेको छ। ट्राफिक प्रहरीले सबै चालकलाई तोकिएको स्थानमै पार्किङ गर्न आग्रह गर्दै अभियानलाई अझ कडाइका साथ अघि बढाउने संकेत दिएको छ।