Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


सीमामा मधेशी जनतामाथि चरम दमन भएकाे भन्दै अध्यक्ष ठाकुरकाे चिन्ता

वर्तमान सरकारलाई ‘हेलिकाेप्टर सरकार’ को संज्ञा, राजधानीमा बस्ने मन्त्रीलाई मधेशको भुइँमान्छेको पीडा थाहै नभएको तर्क

468
Shares

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश र नेपाल–भारत सीमा क्षेत्रमा व्याप्त अशान्ति र सर्वसाधारणमाथि भइरहेको दुव्र्यवहारप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

सीमा नाकामा सर्वसाधारणले भोग्नुपरेको सास्ती र राज्यको उदासिनताले गर्दा आफूहरू ‘विद्रोहको नजिक’ पुगेको चेतावनी समेत उहाँले दिनुभएकाे हाे। अध्यक्ष ठाकुरले सीमा क्षेत्रका भन्सार र सुरक्षाकर्मीहरूले ‘तजबिजी अधिकार’ (स्वविवेकिय अधिकार) को दुरुपयोग गरी सर्वसाधारणलाई दुःख दिने गरेको बताउनुभयो ।

कानून स्पष्ट नहुँदा हाकिमहरूको तजबिजी चल्ने र त्यसले भ्रष्टाचार तथा सास्ती बढाएको उहाँको आरोप छ । विगतमा काम र खाद्यान्नका लागि मानिसहरू नेपाल आउने गरेको स्मरण गर्दै ठाकुरले अहिले स्थिति उल्टो भएको बताउनुभयो । सीमा सुरक्षाका नाममा महिलाहरू सबै भन्दा बढी प्रताडित भइरहेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभएकाे छ ।

नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्धमा राज्यले कठोर व्यवहार देखाएकोमा उहाँले आपत्ति जनाउनुभयो । विवाहका गाडीहरूलाई रोक लगाउने र जन्ती–बरीतलाई पैदल हिँडाउन बाध्य पार्ने कार्यले दुई देशको साँस्कृतिक वातावरण बिगारिरहेको उहाँको तर्क छ । वर्तमान सरकारलाई ‘हेलिकाेप्टर सरकार’ को संज्ञा दिँदै उहाँले राजधानीमा बस्ने मन्त्रीहरूलाई मधेशको भुइँमान्छेको पीडा थाहै नभएको बताउनुभयो ।

अध्यक्ष ठाकुरले मधेसका बुद्धिजीवी र मिडियाले अहिले बिस्तारै आँखा खोल्न थालेको भएपनि सत्ताले मधेसको आवाजलाई अझै बेवास्ता गरिरहेको गुनासो गर्नुभएकाे छ।