प्रकाश मैनाली, सर्लाही ।
गर्मी बढेसँगै तराईमा सर्पदंशको जोखिम बढ्दो छ । तर, सर्लाहीको लालबन्दी नगरपालिका–नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा उपकरण भएर पनि दक्ष जनशक्ति नहुँदा गम्भीर बिरामीको उपचार प्रभावित भएको छ ।
लाखौँका उपकरण थन्किँदा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता छ, जसले गर्दा समयमै उपचार नपाएर ज्यान जाने जोखिम बढेको छ ।
सर्लाहीको नवलपुरस्थित यो सर्पदंश उपचार केन्द्रमा गत साउनदेखि चैतसम्म ४ सय ४५ जना बिरामीले उपचार पाएका छन् । सामान्य अवस्थाका बिरामीलाई एन्टिभेनम दिएर निको पारिए पनि विष फैलिएर गम्भीर बनेका बिरामीका लागि यहाँको सेवा पर्याप्त छैन ।
केन्द्रमा आइसियु र भेन्टिलेटर जस्ता अत्याधुनिक उपकरण त छन्, तर तिनलाई चलाउने दक्ष चिकित्सक छैनन् । जसका कारण आकस्मिक अवस्थाका बिरामीलाई वीरगञ्ज वा जनकपुर रेफर गर्नुपर्ने बाध्यता छ ।









प्रतिक्रिया दिनुहोस्