काठमाडाैं । नेपाली कांग्रेसभित्र यतिबेला एउटा नयाँ तरङ्ग पैदा भएको छ ‘जरा अभियान’ । निर्वाचनमा व्यहोर्नुपरेको पराजय र जनतासँग टाढिँदै गएको संगठनलाई फेरि जीवन्त बनाउन काँग्रेसले नयाँ तरिकाले अघि बढिरहेको छ ।
केही दिनअघि मात्रै पार्टी सभापति गगनकुमार थापाले अभियानको शुभारम्भ गर्नुभएको थियो । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले ‘जरा अभियान’ केबल एउटा औपचारिकता नभई काँग्रेसलाई आधुनिक युग सुहाउँदो ‘डिजिटल पार्टी’ बनाउने महाअभियान भएको बताउनुभयो ।
महामन्त्री पौडेलले अबको राजनीति परम्परागत जुलुस र आमसभामा मात्र सिमित नरहेको बताउनु भयो । ‘अहिलेको जमाना बदलिएको छ । जेन–जी आन्दोलनका बेला न कतै माइकिङ भयो, न ठूला आमसभा । तर डिस्कोर्ड र सामाजिक सञ्जालको माध्यमबाट हजारौँ मानिस सडकमा ओर्लिए । अब राजनीति डिजिटलाइज भइसकेको छ ।’ उहाँले भन्नुभयो । यसै यथार्थलाई आत्मसात गर्दै काँग्रेसले आफ्ना सदस्यहरूलाई प्रविधिसँग जोड्न खोजेको उहाँले बताउनुभयो ।
अब प्रत्येक क्रियाशील सदस्यले आफ्नो फेसबुक, टिकटक, इन्स्टाग्राम र ट्विटरको विवरण पार्टीलाई बुझाउनुपर्नेछ । ह्वाट्सएपमार्फत सिधै केन्द्रसँग जोडिने र पार्टीका एजेण्डा प्रत्येक सदस्यको मोबाइलसम्म पु¥याउने यो अभियानको मुख्य लक्ष्य हो । ‘जरा अभियान’ ले वडा सभापतिहरूलाई संगठन विस्तारको पूर्ण जिम्मेवारी सुम्पेको छ । महामन्त्री पौडेलकाअनुसार स्थानीय र प्रदेश तहको चुनाव नजिकिँदै गर्दा संगठनको ‘जरा’ मानिने वडाहरू सक्रिय हुनु अनिवार्य छ ।
‘यो अभियानले वडा सभापतिलाई रिकग्नाइज गरेको छ ।’ पौडेलले भन्नुभयो, ‘जिम्मेवारी पाउँदा पनि जाँगर नचलाउने हो भने भोलिको निर्वाचनमा नतिजा हात पार्न कठिन हुन्छ ।’ सदस्यता अद्यावधिक गर्ने कार्यलाई बैंकको ‘केवाईसी’ भर्ने प्रक्रियासँग तुलना गर्दै उहाँले पार्टीका सदस्यहरूलाई जिम्मेवार र सपथ गराएर थप प्रतिवद्ध बनाइने बताउनु भयो । धेरै पुराना नेताहरूमा आफ्नो इतिहास मेटिने हो कि भन्ने चिन्ता रहेकोप्रति टिप्पणी गर्दै पौडेलले भन्नुभयो, ‘हामी इतिहास मेटाउन होइन, बरु आगोले नपोल्ने र पानीले नबगाउने ढंगबाट डिजिटल रूपमा सुरक्षित गर्न खोज्दैछौँ । कसले कहिले सदस्यता लियो, कति जेल बस्यो र पार्टीमा के योगदान दियो भन्नेकुरा अब झोलामा होइन, डिजिटल प्रणालीमा फोटोसहित सुरक्षित रहनेछ ।’
पार्टीभित्रको आन्तरिक कलह र विशेष महाधिवेशनको विवाद अदालत र निर्वाचन आयोगबाट समाधान भइसकेको उल्लेख गर्दै उहाँले अब ‘जित र हार’ को अहंकार त्याग्न आग्रह गर्नुभयो । आगामी असोज १६ देखि १९ सम्म तोकिएको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै उनहाँले भन्नुभयो, ‘हाम्रो अर्जुन दृष्टि अब १५औँ महाधिवेशन हो । हामी अधिकतम लचकता अपनाएर सबैलाई समेट्नेछौँ ।’ विगतको निर्वाचनमा काँग्रेस बाहेक अरुलाई भोट हाल्ने वा अनुशासन उल्लंघन गर्ने बाहेक अन्य सानातिना असहमति राख्ने सदस्यहरुलाई कुनै कारबाही नगरिने उहाँले बताउनु भयो । बरु, सबैलाई समेटेर एउटै ढिक्का बनाइने उहाँको भनाइ छ ।
महामन्त्री पौडेलले काँग्रेसभित्रको एउटा तीतो सत्य पनि उजागर गर्नुभयो । धेरै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्य संख्याभन्दा थोरै भोट आएको तथ्याङ्क प्रश्तुत गर्दै उहाँले भन्नुभयो, ‘३६५ दिनमा ३६४ दिन काँग्रेस हुने तर भोट हाल्ने दिन अर्कै हुने प्रवृत्ति हाम्रो स्कुलिङको समस्या हो ।’ नेपाली काँग्रेसको देशमा कुनै यस्तो टोल नभएको जहाँ सदस्य छैनन्, तर भोट किन आएन ? यसको जवाफ खोज्न ‘जरा अभियान’ ले मद्दत गर्ने उहाँको विश्वास छ ।
‘प्रत्येक तीन घरमध्ये एउटा घर काँग्रेसको छ, तर हाम्रो सन्देश जनतासम्म पुगेन । अब सामाजिक सञ्जाल र प्रविधिको प्रयोग गरेर म्यासेज राम्रो बनाउनुपर्छ ।’ उहाँले जोड दिनुभयो । महामन्त्री पौडेलले काठमाडौंका उम्मेदवार र नेताहरूलाई आफ्नो ‘डिजिटल टिम’ यसै अभियानमा खटाउन आग्रह गर्नुभयो । वैशाख महिनाभित्र काठमाडौंले सदस्यता अद्यावधिकको काम सकेमा त्यसले देशभर एउटा सकारात्मक सन्देश दिने उहाँले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्