काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वामपन्थी एकता हाल असान्दर्भिक भएको भन्दै विरोध गरेका छन्।
नेता पौडेलले नेकपा (एमाले) का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको समीक्षा र पार्टी पुनर्गठन हुनुपर्नेमा जोड दिएका छन्।
हारको समीक्षा प्राथमिक विषय हुनुपर्ने उनको दावी छ। पार्टी पुनर्गठन गर्नुपर्नेमा त्यसबाट भाग्न नपाइने भन्दै उनले अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको चर्चा चलिरहेको बताएका छन् ।
आफ्नो फेसबुक स्टाटसमा उनले लेखेका छन्, ‘नेकपा एमालेका लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समिक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो । यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाईरहेका हुन् ?’
पौडेलको यो धारणा आउनुअघि दुई दिनपहिले पार्टीका महासचिव शंकर पोखरेलले पनि यस्तै आशय व्यक्त गरेका थिए । पोखरेलले यस प्रकारका चर्चालाई ‘भ्रमपूर्ण एजेन्डा सेटिङ गर्ने र त्यसैलाई आधार बनाएर बहस चलाउने प्रवृत्ति’ भन्दै खण्डन गरेका थिए ।
पछिल्ला केही दिनयता विभिन्न सञ्चारमाध्यममा एमाले र नेकपा लगायतका वामपन्थी शक्तिहरूबिच एकता हुन सक्ने आशयका समाचार र विश्लेषणहरू प्रकाशित भएपछि एमालेका शीर्ष नेताहरूले यसबारे मुख खोलेका हुन् ।









प्रतिक्रिया दिनुहोस्