Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


शीतभण्डार भ्रष्टाचार प्रकरण: लुम्बिनीका पूर्वसचिवसहित १६ जनाविरुद्ध अख्तियारको मुद्दा


1.5k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश का तत्कालीन सचिव बैकुण्ठ अधिकारी सहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार विशेष अदालत काठमाडौं मा आरोपपत्र दर्ता गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार उक्त मुद्दामा वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल तथा सह–लेखापाल अजय मिश्र लगायत संलग्न छन्।

आरोपपत्रअनुसार शीतभण्डार निर्माण योजनामा प्रचलित कानुनविपरीत काम नगरी अधुरो अवस्थामा छाड्दै रकम भुक्तानी लिई भ्रष्टाचार गरिएको आरोप लगाइएको छ। सम्मरीमाइ गाउँपालिका–५ सिद्धनाथमा निर्माणाधीन शीतभण्डारको गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी भुक्तानी लिएको भन्दै उजुरी परेको थियो।

उक्त उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७६/७७ मा ७१ लाख ९७ हजार ९८० रुपैयाँ हिनामिना भएको खुलेको आयोगले जनाएको छ। सोही रकम बराबर बिगो तथा जरिवाना सजाय माग गर्दै मुद्दा दायर गरिएको छ।