Logo २ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026


भक्तपुरमा आज जिब्रो छेड्ने जात्रा मनाइँदै


117
Shares

काठमाडाैं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ बुधबार मनाइँदैछ ।

विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष बोडेका सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका हुन् । मध्यपुर ठिमी वडा–२ मा रहेको गणेशको मन्दिर अगाडि रहेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्ध चन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्ति पीठमा परिक्रमा गर्ने गर्छन् । परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकाल्ने चलन रहेकाे हाे । जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघि देखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ ।

यसैबीच मध्यपुरथिमि क्षेत्रमै बुधबार ३२ खटसहितको सिन्दूर जात्रा गरिँदैछ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर सिन्दूर जात्रा मनाउने गर्छन् । थिमिमामात्र मनाइने यो जात्रामा एक अर्कामा सिन्दूर दलेर धिमेलगायतका स्थानीय बाजाको तालमा नाच्दै हात(हातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा रहेकाे हाे।