Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


हेटाैंडामा अवैध मदिरा उद्योगमा प्रहरीकाे छापा


0
Shares

हेटौंडा ।

अवैधरुपमा सञ्चालन हुँदै आएको घरेलु मदिरा उत्पादन गर्ने उद्योगमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा तथा कच्चापदार्थ बरामद गरेको छ ।

आइतबार दिउँसो करिब ४ बजे हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलस्थित जगत्बहादुर घिसिङको जस्तापाताले छाएको घरमा अवैधरुपमा मदिरा उत्पादन भइरहँदा प्रहरी टोली खटिएको थियो ।

प्रहरीले उक्त स्थानमा खानतलासी गर्दा करिब ४ हजार लिटर तयारी घरेलु मदिरा तथा ५ हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ बरामद गरेको जनाएको छ । मदिरा उत्पादनमा प्रयोग भएका ग्यासका ८ सिलिन्डर, २ वटा भट्टीचुलो, २ बोरा चामल तथा प्लास्टिकका ड्रम र बोतलसमेत नियन्त्रणमा लिइएको छ ।

घटनास्थलबाट मदिराभट्टी सञ्चालक ६० वर्षीय घिसिङसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा चितवन कालिका नगरपालिका–७ बस्ने २३ वर्षीय सुजन तामाङ, बारा कोहल्बी नगरपालिका–८ बस्ने १९ वर्षीय अजय लामा र चितवन कालिका नगरपालिका–९ बस्ने ३४ वर्षीय सुरेश प्रजा छन् । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।