काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले दार्चुलाको विकट अवस्थाकाे बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
उपसभामुखको निर्वाचन प्रक्रियामा सहभागी हुँदै अध्यक्ष राईले आफ्नो हालैको दार्चुला भ्रमणको स्मरण गर्दै अध्यक्ष राईले दार्चुलाको विकट अवस्थाकाे बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । आफूले त्यहाँको अवस्था देखेर रोएर आएको बताउनुभयो । ब्यास गाउँपालिकाको दुम्लिङसम्म पुग्दा बाटो नभएर मान्छे महाकालीमा तुइनबाट खसेर मर्ने अवस्था रहेको उहाँको भनाइ छ । तुइनमा नझरेको कुनै घर परिवार नै नरहेको उहाँले बताउनुभयो । उहाँले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री र गृहमन्त्रीलाई दार्चुलाको ब्यास क्षेत्रमा स्थलगत भ्रमण गर्न र त्यहाँका जनताको पीडा बुझ्न रोस्ट्रमबाटै आग्रह गर्नुभयो ।
सम्बोधनका क्रममा उहाँले संसदभित्र प्रयोग हुने शब्द र व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । केही सांसदहरूले उपसभामुख उम्मेदवार रुवीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर सम्बोधन गरेकोमा आपत्ति जनाउनुभयो । त्यस्तै, ज्येष्ठ नागरिकका विषयमा अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गर्दै उहाँले प्रकृतिको नियम अनुसार सबै बुढो हुने भएकाले उमेरलाई लिएर उपहास नगर्न सचेत गराउनुभएकाे छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै अध्यक्ष राईले विना कारण उडान (फ्लाइट) ढिलो गर्ने विमान कम्पनीहरूलाई जरिवाना गर्नुपर्ने माग राख्नुभयो । संसदमा समर्थन जनाउँदा टेबल र कुर्सी ठोक्ने परम्परालाई ‘अमर्यादित’ भन्दै उहाँले त्यसको साटो दुई हातले ताली बजाउने संस्कृति शुरु गर्न प्रश्ताव गर्नुभएकाे छ ।









प्रतिक्रिया दिनुहोस्