Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सातै प्रदेशका स्काउटलाई बिपद व्यवस्थापन तालिम बर्दघाटमा सुरु


273
Shares

नवलपरासी,पश्चिम् । नेपाल स्काउटद्वारा आयोजित एवम् लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा छैठौ ब्याजअन्तर्गत सातै प्रदेशका स्काउटहरूका लागि बिपद व्यवस्थापनसम्बन्धी विशेष तालिम सशस्त्र प्रहरी बल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा सुरु भएको छ।

६ दिनसम्म सञ्चालन हुने यस तालिमले बिपदको समयमा गरिने प्रतिकार्य, उद्धार तथा राहत व्यवस्थापनमा स्काउटको भूमिका अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले हरेक बिपदका घडिमा स्काउटको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै प्रदेश सरकारका तर्फबाट ३० लाख रुपैयाँ बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे ।हरेक संकटका घडिमा राज्यका सुरक्षा निकायले मात्रै सामना गर्न,उद्धार गर्न कठिन हुने भन्दै त्यस्ता बिपदका बेला स्काउट जस्ता संघ सस्था र आम नागरिकको भूमिका उल्लेखनीय रहनु पर्नेमा मन्त्री पाण्डेले जोड दिए ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले सिमित श्रोत र साधनका बिच नेपाल जस्तो भूपरिवेसमा बिपद प्रतिकार्य र जोखिम नियन्त्रणमा चुनौतीपूर्ण रहेको बताए ।

नेपाल स्काउट राष्ट्रिय कार्यबहाक प्रमुख आयुक्त ईन्दु सुवेदीले संकटका घडिमा उभिन स्काउट सदैव तत्पर रहने गौरवशाली सस्था भएको उल्लेख गर्दै तालिमा बग्ने पसिनाले नागरिकलाई त्यतीनै बढी उद्दार गर्न सकिने,तालिमले अन्तरास्ट्रिय सीप र दक्षताको प्रयोग गरि शारीरिक र मानसिक रुपमा बलियो बनाउन स्काउटलाई ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

तालिमका कमान्डर प्रशिक्षक पवन कोईरालाले स्काउटहरू बिपदको अवस्थामा अग्रपंक्तिमा रहेर समुदायलाई सहयोग गर्ने बताए। उनका अनुसार घाइतेहरूको प्राथमिक उपचार, राहत वितरण, हराएका व्यक्तिहरूको खोजी, भीड व्यवस्थापन, मनोपरामर्श, पुनर्स्थापना तथा पुनर्निर्माण जस्ता कार्यमा स्काउटहरू निरन्तर खटिँदै आएका छन्।

नेपाल स्काउटले सशस्त्र प्रहरीसँग समन्वय गर्दै विभिन्न बिपदका घटनामा संयुक्त रूपमा काम गर्दै आएको उल्लेख गर्दै “एक घर एक स्काउट” नीतिको अवधारणा पनि अघि सारिएको छ। देशभर हुने साना–ठूला सबै प्रकारका बिपदमा स्काउटको महत्वपूर्ण भूमिका रहँदै आएको आयोजकले जनाएको छ।

तालिममा तिनै तहका सरकारको सहयोगमा चरणबद्ध रूपमा विभिन्न विषय समावेश गरिएको छ। जसअन्तर्गत साइबर सुरक्षा सम्बन्धी ज्ञान, विभिन्न प्रकारका डोरी (रोप) को प्रयोग, ‘टाइप्स अफ रोप’, ‘पेसियन्ट एसेसमेन्ट प्लान’, वाकी–टकीको प्रयोग, प्राथमिक उपचार, रेस्क्यु प्रविधि, समूह व्यवस्थापन, शव व्यवस्थापन तथा फायर फाइटर सम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ।कार्यक्रममा लुम्बिनी प्रदेश स्काउट आयुक्त दिनानाथ भट्टले नेपालभर बाट झण्डौ १ लाख ५० हजार स्काउट प्रतीनिधीहरु स्वयंसेवकको रुपमा बिपद ब्यवस्थापन कार्यमा संलग्न रहेको जानकारी दिनुभयो ।कार्यक्रममा सुरक्षा निकाय र स्काउटका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यस तालिमले स्काउटहरूलाई बिपद सामना गर्न सक्षम बनाउँदै समुदायस्तरमा सुरक्षित र सशक्त जनशक्ति तयार पार्ने विश्वास लिइएको छ।तालिममा सातै प्रदेशबाट छनौट भएका ४० जना पुरुष र ३० जना महिला गरी ७० जना स्काउट प्रतिनिधि सहभागी रहेका छ्न ।