Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


पदभार सम्हाल्दै राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले भनिन्–साइबर बुलिङविरुद्ध कानूनी हस्तक्षेप अपरिहार्य


598
Shares

काठमाडाैं । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारी पदभार ग्रहण गर्नुभएको छ । 

शपथग्रहण लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर भण्डारीले पदभार सम्हाल्नुभएको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले साइबर बुलिङमार्फत महिलामाथि हुने चरित्रहत्याविरुद्ध कानूनी व्यवस्था आवश्यक रहेको बताउनु भयो ।

उहाँले महिलाको मानप्रतिष्ठा र सामाजिक आचरणमा असर पर्ने गरी चरित्रहत्या गर्ने जस्ता अपराधिक गतिविधि मौलाउँदै गएको भन्दै त्यसको नियन्त्रणका लागि कानून निर्माण अपरहार्य भएको बताउनु भयो । भण्डारीले सामाजिक सञ्जालमार्फत महिलामाथि भइरहेको साइबर हमलाले विकराल रूप लिँदै गएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सरकार र सरोकारवालहरुबीचको समन्वय गरेर कानूनी हस्तक्षेप गर्नुपर्ने बताउनु भयो ।

उहाँले साइबर अपराधको सिकार भएकै कारण सांसदहरू नै प्रहरीको साइबर ब्यूरोसम्म पुग्नु दुःखद् भएको बताउनु भयो ।  उपाध्यक्ष भण्डारीले सभ्य र मर्यादित समाज निर्माणका लागि साइबर अपराध नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 
उहाँले भन्नुभयो, ‘गला रेट्नु मात्रै अपराध होइन । मान्छेलाई समाजमा बाँच्नै नसक्नेगरी जसरी नेगेटिभ रुपमा प्रयोग भइरहेको छ विषेशगरी महिलाहरुको मान, प्रतिष्ठा र सामाजिक आचरणमा प्रभाव गर्नेगरी चरित्रहत्या गर्ने गरिएको छ । महिलाको जीवन सिध्याउनुपर्नेछ भने उसको चरित्र हत्या गरिदिएपछि हुन्छ भनेर जसरी साइबर बुलिङहरु भइरहेका छन् । त्यसका विरुद्ध धेरै माननीय सदस्यहरु पनि प्रहरीको साइबर ब्युरोमा जानुभइरहेको मैले देखेको थिएँ । अब यसलाई कानूनी माध्यमबाट रोक्नुपर्छ । साइबर हमलामार्फत महिलाको चरित्रमाथि प्रश्न गर्ने, हेर्न र पढ्नै नमिल्ने खालका शब्दहरुबाट प्रहार गर्ने खालको जुन अपराधिक क्रियाकलाप बढिरहेको छ यसको लागि सरकारले पनि छिट्टै सोच्ने छ । र हामी सबैले यो समाजलाई सभ्य र मर्यादित समाज बनाउने हो भने कानूनमार्फत महिलाको चरित्र हत्या गर्न साइबर बुलिङ गर्ने जुन विकृतिले विकराल रुप लिँदै छ यसको अन्त्य गर्नुपर्छ । यस विषयमा अहिले संसद र संसलबाहिर पनि चर्को रुपमा आवाज उठिरहेको देखेको छु ।’
उहाँले राष्ट्रिय सभा उपाध्यक्षको पद कुनै आग्रहबिना निष्पक्ष र संसदीय गरिमा कायम राख्दै बहन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।