Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


साेमबार नेप्सेमा हरियाली, १० अर्ब ९२ करोडको कारोबार


325
Shares

काठमाडाैं । आइतबार उच्च अंकले घटेको शेयर बजार आज भने उसैगरी फर्किएको छ ।

ब्रोकर एशोसियसनका पदाधिकारीहरुसंगको भेटमा अर्थमन्त्री स्वर्णीम वाग्लेले सरकारले शेयर बजारलाई अनावश्यक रुपमा नगिजोल्ने र नीतिगत सुधारहरु गर्दै जाने आश्वासन दिएपछि लगानीकर्ता उत्साहित भएका हुन् ।

विहान बजार खुलेदेखि नै बढ्न शुरु गरेको बजार परिसूचक नेप्से ८३ अंकले बढ्दै २७ सय ६० को विन्दुमा पुगेको छ । बजार बढे पनि कारोबारको परिमाण भने उल्लेख्य रुपमा बढ्न सकेको छैन ।

नेप्सेमा रहेका १३ वटै उपसमूहमा हरियाली छाउँदा जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.५९ प्रतिशतले बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक ४ प्रतिशत बढ्दा बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन् । २६४ वटा कम्पनीको शेयर मूल्य बढ्दा तीन वटाको मात्रै मूल्य घटेको छ । आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

उपकार लघुवित्त, भुजुङ्ग हाइड्रोपावर, रिडी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो र होटल फरेष्ट इनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मूल्य घटेका स्टकहरुको गिरावट दर पनि ४ प्रतिशतभन्दा कम रहेको छ ।

दिनभरमा ३४५ वटा स्टकको दुई करोड ५१ लाख ५५ हजार कित्ता शेयर १० अर्ब ९२ करोड ८५ लाख ६ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्सको एक अर्ब १३ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।