केके मानन्धर, काठमाडौं । युवा नेत्र सेवा, काठमाडौंले “एक कप चिया दान अभियान” अन्तर्गत १६औँ एक कप चिया दान दिवस सम्पन्न गरेको छ ।
कार्यक्रम टेकुस्थित भिभा ब्यैंक्वेटमा आयोजना गरिएको थियो । वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । अभियान अन्तर्गत दैनिक एक कप चियाको बराबर रकम एक वर्षसम्म संकलन गरिन्छ ।

उक्त रकम आर्थिक रूपमा विपन्न तथा असहाय व्यक्तिहरूको आँखा उपचारका लागि प्रयोग गरिन्छ । संस्थाका अध्यक्ष सिद्धार्थ रञ्जितले हालसम्म २०४ जना आजीवन सदस्य रहेको जानकारी दिए । उनका अनुसार साधारण सदस्य सहित ४०० भन्दा बढी सदस्य छन् । साथै, १५ देशबाट स्वदेशी तथा विदेशी सदस्यले सहभागिता जनाएका छन् ।

यसै क्रममा २६ जना मोतिबिन्दुका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो । जहरसिंपौवा, बलम्बु तथा काठमाडौंका विभिन्न स्थानका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिइएको छ ।

कार्यक्रममा २०८२ सालमा सदस्यता लिएका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । उत्कृष्ट कार्य गर्ने १२ जना सदस्यलाई सम्मानपत्र प्रदान गरिएको थियो । अध्यक्ष रञ्जितले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्