काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, सुरक्षा र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय जनमोर्चाले आयोजना गरेको ‘निर्वाचनको मूल्याङ्कन तथा नेपालको परराष्ट्र नीतिबीचको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता साउदले सो कुरा बताउनुभएको हो । कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री साउदले परराष्ट्र नीति र निर्वाचनको मूल्याङ्कनलाई जोडेर हेर्दा आन्तरिक र वाह्य पक्षको सन्तुलन महत्वपूर्ण हुने बताउनुभयो ।
नेपालको संविधानले नै असंलग्न परराष्ट्र नीतिलाई आत्मसात गरेको स्मरण गराउँदै साउदले व्यावहारिक रूपमा पनि असंलग्न रहनु नै नेपालको हितमा रहेको बताउनु भयो । नेपाल दुई ठूला उदीयमान अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनको बीचमा रहेको उल्लेख गर्दै साउदले परराष्ट्र नीतिलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले नेपालको बढ्दो व्यापार घाटा र परनिर्भरताप्रति चिन्ता व्यक्त गर्नुभयो । हालैको निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयका बारेमा टिप्पणी गर्दै साउदले नयाँ शक्तिसामु चुनौतीका पहाडहरू रहेको बताउनु भयो । विशेष गरी वैदेशिक रोजगारीमा गएका युवाहरूलाई स्वदेशमै रोजगारी दिने आश्वासन पूरा हुन नसके त्यसले भविष्यमा अर्को विद्रोह निम्त्याउन सक्ने उहाँको चेतावनी छ ।
उहाँले भन्नुभयो, ‘परराष्ट्र नीति एउटा बृहत् विषय हो भने निर्वाचन आन्तरिक अभ्यास । तर, जबसम्म आन्तरिक रूपमा राजनीतिक दलहरू परिपक्व भएर राष्ट्रिय चुनौतीमा एक हुँदैनन्, तबसम्म बाह्य शक्तिहरूले खेल्ने मौका पाउँछन् । हाम्रो पहिलो प्राथमिकता आन्तरिक सुरक्षा, अखण्डता र सार्वभौमिकता हुनुपर्छ । परराष्ट्र नीति गणितीय हुँदैन, यो हाम्रा हितहरूले निर्धारण गर्ने सन्तुलनमा आधारित हुनुपर्छ । हाम्रो बजारमा कि चिनियाँ सामान छ कि भारतीय । आफ्नै उत्पादन नहुँदा नेपालीको जीवनस्तर महँगीले दुरूह बनेको छ । अबको विदेश नीतिले आर्थिक समृद्धिका स्रोतहरू पहिल्याउनुपर्छ ।’
छिमेकी मुलुकहरूमा दशकौँदेखि एउटै राजनीतिक परिपाटी स्थिर रहेको उदाहरण दिँदै साउदले नेपालमा भने छिटो–छिटो हुने सरकार र व्यवस्था परिवर्तनले विकासमा बाधा पु¥याएको बताउनुभयो । उहाँले शासनको ढाँचा र राष्ट्रिय मुद्दाहरूमा सबै राजनीतिक दलबीच न्युनतम सहमति र स्थिरता हुनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्