Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


प्रधानमन्त्री कप क्रिकेटमा आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको शानदार जित


0
Shares

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएका खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

जनकपुरमा बिहीबार भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । मधेशले दिएको १ सय ८५ रनको लक्ष्य आर्मीले २९ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । आर्मीका तृतराज दासले ६९, बसिर अहमदले नटआउट ४१ रन बनाए । मधेशका मोहम्मद आदिल आलमले २ विकेट लिएका छन्। योसँगै आर्मी ५ खेलमा ४ जितसहित ९ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। मधेश ५ खेलमा ७ अङ्कसहित चौथो स्थानमा छ ।

त्यस्तै, वीरगञ्जमा बिहीबारै भएको अर्को खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई २ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको १ सय ९१ रनको लक्ष्य सुदूरपश्चिमले ३९ ओभर २ बलमा ८ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका अभिषेक पालले ६६ र नारायण जोशीले नटआउट ४५ रन बनाएका थिए। गण्डकीका विपिन खत्रीले ५ विकेट लिएका छन् ।

योसँगै सुदूरपश्चिम ५ खेलमा ४ जीतसहित ८ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । गण्डकी ५ खेलमा ३ अङ्कसहित नवौँ स्थानमा छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाडौंको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको हो ।