Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


रविले मागे सरकारका तर्फबाट दलित समुदायसँग माफी


546
Shares

काठमाडाैं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायमाथि ऐतिहासिक रूपमा भएको विभेद र अन्यायका लागि सरकारको तर्फबाट माफी मागेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दलित समुदायमाथिको विभेद सामाजिक गल्ती मात्र नभई संगठित अपराध भएको बताए।

उनले सम्बोधनका क्रममा चुनावका बेला खगेन्द्र सुनारले माफी मागेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘मेरा मित्र माननीय खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनु भएको छ। चुनावी दौडका सिलसिलामा उहाँका विषयमा विवाद आउँदा उहाँले माफी माग्नु भयो। गल्ती गरेको हो कि होइन भन्ने अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे। खगेन्द्र सुनारमाथि युगौँ युगसम्म गरिएको अन्यायको लागि हामीले माफी माग्यौँ?’

उनले थपे, ‘यो देशको दलित समुदायलाई आज सार्वजनिक क्षमायाचनाका साथ केही भन्नु छ। यो सरकार शताब्दिऔँदेखिको विभेदको, अन्यायको, अत्याचारको इतिहाससँग पहिलो पटक सामुहिक र सार्वजनिक माफी माग्दै छ। म सिंगो पार्टी, प्रधानमन्त्री र सरकारको तर्फबाट माफी माग्छु।’

सम्बोधनका क्रममा उनले सरकारले अब महिलाहरूको अधिकार पनि सुनिश्चित गर्ने बताए। ‘यो रोस्टमबाट मैले आमा र दिदीबहिनीलाई पनि केही भन्नु छ। यो देशमा तपाईहरूले सबैभन्दा धेरै जिम्मेवारी बोकेर भए पनि सबैभन्दा कम अवसर पाउनुभयो। घर सम्हाल्नु भयो, परिवार बचाउनु भयो। समाज चलाउनु भयो। तर, त्यसलाई काम मानिएन। महिलालाई अवसर अब अनुग्रह होइन अधिकार हुनेछ। हामी सुनिश्चित गर्नेछौँ।’